Logo

३ कात्तिक,वीरगञ्ज । नवरात्रको छैठौँ दिन आज नवदुर्गा मध्येकी कात्यायनीको पूजा आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्परा अनुरूप आश्विन शुक्ल षष्टी तिथिमा कात्यायनीको पूजा–आराधना गरिएको हो।

पुराणअनुसार कात्यायनको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले उनलाई पुत्रीको रूपमा जन्म लिने वचन दिएकी थिइन्। महिषासुर नामक दैत्यको विनाशका लागि ब्रह्मा, विष्णु र महेश्वरको अंशबाट देवी उत्पन्न भइन्। यिनै कात्यायन ऋषिद्वारा पूजित भएकीले यिनको नाम कात्यायनी भएको हो।

सिंहवाहिनी कात्यायनीले महिषासुरको वध गरेको दुर्गा सप्तशतीमा आउँछ। चार हातमध्ये दुई हातमा तरबार, कमल पुष्प लिएकी र दुई हातले अभय र वरद मुद्रा प्रदर्शन गरेकी छिन्। यिनको आराधनाबाट सम्पूर्ण संकट नाश हुने विश्वास गरिन्छ।

नवरात्रका अवसरमा वीरगञ्जको गहवामाई, विन्दवासिनी, सिमावर्ती रक्सौलको मान्सामाई मन्दिर लगायत विभिन्न मन्दिरमा रङ्गीचङ्गी बत्तीले सजाइएको छ । बिहान दर्शनार्थीको बाक्लो उपस्थिति हुने मन्दिरमा बेलुका बत्ती बलेपछि झनै उपस्थिति बढ्ने गरेको माईस्थान मन्दिर संचालक समितिका अध्यक्ष दिना गुप्ताले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार