Logo

३ कात्तिक,वीरगञ्ज । बडादसैँ, दीपावली तथा छठ पर्व मनाउन भारतबाट वीरगञ्ज भन्सार नाका हुँदै दैनिक २ हजार नेपाली आउने गरेका पाइएको छ । भारतको विभिन्न ठाउँमा अध्ययन तथा कामका लागि गएका नेपालीहरू चाडपर्व नजिकिएसँगै स्वदेश फर्कन थालेका जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

कार्यालयले केही दिनदेखि नेपालबाट भारततर्फ जानेभन्दा पनि भारतबाट नेपाल आउनेको चाँप बढेको जनाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले वीरगञ्ज मुख्य भन्सार र अन्य छोटी भन्सारको बाटो हुँदै दैनिक २ हजार नेपाली स्वदेश फर्कने गरेका जानकारी दिनुभयो । चाडपर्व मनाउन आउने नेपालीहरुले चेकजाँचको नाममा कुनै समस्या भोग्नु नपरोस् भनेर सतर्कता अपनाइएको उहाँले बताउनुभयो ।

चाडपर्वलाई लक्षित गरेर नाकामा हेल्प डेस्क स्थापना गर्नुका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारीहरूलाई पनि प्रभावकारी रूपमा परिचालन गरिएको उहाँको भनाइ छ । चाडपर्व मनाउन आउने नेपालीहरूलाई सहज होस् भन्नका लागि घटस्थापनादेखि राति १२ बजेसम्म भन्सार खुला गरिएको छ ।

वीरगञ्ज रक्सौल नाकाको मितेरी पुल छेउमा भने पछिल्लो समय भारतीय प्रहरीले चेकजाँचमा कडाइ गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।


सम्बन्धित समाचार