Logo

४ कात्तिक,काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७३ वर्षपछि पहिलो पटक पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । दशैँ शुरु भइसकेको र पर्यटकीय याम पनि भएकाले विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ हवाई उडान बढेको हो ।

देशको पुरानो र अति व्यस्त त्रिभुवन विमानस्थलमा पछिल्लो दुई दिनदेखि अहिलेसम्मकै धेरै अन्तर्राष्ट्रिय उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । सामान्यतयाः दैनिक दुईतर्फी ९० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा पछिल्ला दिनमा दैनिक दुईतर्फी एक सय १० देखि एक सय १३ उडान÷अवतरण भएको विमानस्थल कार्यालयको भनाइ छ ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार दशैँको घटस्थापनायता दैनिक हवाई उडानमार्फत १६ हजारदेखि १७ हजार आवतजावत गरिरहेका छन् । उहाँका अनुसार गएको असोज २९ गते अन्तर्राष्ट्रिय उडानतर्फ एक सय १३ उडान भएका थिए । जुन एक दिनमा भएको अहिलेसम्मकै बढी उडान सङ्ख्या हो । गएको असोज ३० गते एक सय १० र कात्तिक १ देखि ३ गतेसम्म दैनिक एक सय १० भन्दा बढी अन्तर्राष्ट्रिय उडान भइरहेका छन् ।

‘विमानस्थलको उडान इतिहासमा यो सबैभन्दा बढी उडान हो । चाडपर्व र पर्यटकीय सिजनले पनि अन्तर्राष्ट्रिय र आन्तरिक उडान चाप बढिरहेको छ’, विमानस्थलका महाप्रबन्धक तिवारीले भन्नुभयो । अन्तर्राष्ट्रिय उडानतर्फ ‘विन्टर सिजन’का लागि बढी उडानको माग रहेको उहाँले जानकारी दिनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वटा वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

विमानस्थल कार्यालयका अनुसार अहिले आन्तरिकतर्फ दुईतर्फी दैनिक तीन दुई सय ७० उडानमार्फत झन्डै १४ हजार यात्रुले सेवा लिइरहेका छन् । महाप्रबन्धक तिवारीले विमानस्थलमा अहिले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै गरी झन्डै पाँच सय उडान भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘दैनिक पाँच सय हाराहारी उडान निकै बढी हो, विमानस्थल स्थापना भएयता अहिलेसम्मकै बढी उडान र यात्रु आवतजावत भइरहेका छन् ।’

विमानस्थल कार्यालयका अनुसार कात्तिक १ गते बुधवार मात्रै आन्तरिकतर्फ १५ हजार बढीले हवाई यात्रा गरेका थिए । त्यस दिन बुद्ध एअरले मात्रै आठ हजार नौ सय यात्रुलाई सेवा दिएको थियो । त्यो दिन यती एअरलाइन्सले दुई हजार छ सय ५१, श्री एअरलाइन्सले एक हजार आठ सय ३९ र सौर्य एअरले तीन सय ४० यात्रुलाई सेवा दिएका थिए ।

नेपाल वायु सेवा निगमको आन्तरिक उडानका विभिन्न गन्तव्यमा यात्रु भरिभराउ छन् । दुई थान ट्विनअटर जहाज मात्रै रहेको निगमको आन्तरिक उडानमा सर्वाधिक माग रहे पनि जहाजको सीमितताले थोरै सङ्ख्यामा देशका दुर्गम भेगमा उडान भइरहेको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अहिले आन्तरिकतर्फ देशका विभिन्न १६ गन्तव्यमा दैनिक २२ वटा उडान गर्दै आएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिघण्टा अन्तर्राष्ट्रियतर्फ एक हजार पाँच सय र आन्तरिकतर्फ हरेक घण्टा पाँच सय यात्रु व्यवस्थापन गर्ने क्षमता छ ।

कुल ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१८ मा ७२ लाख हवाई यात्रुले सेवा लिएका थिए । कोभिडपछि विमानस्थलमा निरन्तर हवाई उडान र यात्रु सङ्ख्या बढिरहेको विमानस्थलले जनाएको छ ।

नेपालकै पुरानो अन्तर्राष्ट्रिय विमानस्थलको पुरानो नाम गौचर मैदानलाई हवाई मैदानको रूपमा प्रयोग गर्न सन् १९४९ देखि शुरु गरिएको थियो । पहिलो पटक ‘बिचक्राफ्ट बोनान्जा’ विमान अवतरण भएको यो विमानस्थलबाट पहिलो पटक सन् १९५० फेब्रुअरी २० मा हिमालयन एभिएसनको डाकोटा विमानले कोलकात्ता उडान भरेको थियो । यो विमानस्थलको तत्कालीन राजा महेन्द्रले सन् १९५५ मा उद्घाटन गर्नुभएको थियो । सन् १९६४ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नामाकरण भएको थियो ।

यो विमानस्थलमा सन् १९६७ मा जर्मनीको लुफ्थान्सा एअरलाइन्सको बोइङ–७०७ पहिलो जेट विमानको रूपमा अवतरण गरेको थियो । विमानस्थल व्यापारिक प्रयोग सन् १९७२ देखि शुरु भएको हो ।रासस


सम्बन्धित समाचार