Logo

९ कात्तिक, वीरगञ्ज । सांसद अजयकुमार चौरसिया । उनी पर्साको क्षेत्र नम्बर २ बाट अहिले निर्वाचित छन् । सदरमुकामका केही वडा र बाँकी पर्सागढीका सबै र बहुदरमाई नगरपालिका ४ वटा वडा उनको निर्वाचन क्षेत्रमा पर्दछ ।

सांसद चौरसियाको यो निर्वाचन क्षेत्रमा सबै समुदायको बसोबास छ । विशेषगरी हिन्दू, मुस्लिम र पहाडी समुदाय उनका मतदाता हुन् । सदरमुकाम बीरगन्जबाहेक खासगरी पर्सागढी नगरपालिकामा पहाडी समुदायको बसोबास छ ।

पर्सागढी नगरपालिकामा पहाडी समुदायको बसोबास मात्रै होइन, बाक्लो संख्यामा उपस्थिति नै छ । अर्थात् यहाँ उनका मतदाता पहाडी समुदाय पनि बढी छन् ।
यो नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५ र ९ मा पहाडी समुदायको बसोबास छ । जहाँ करिब ३ सयको हाराहारीमा पहाडी समुदायको घरधुरी छ । सांसद चौरसियाको यी वडाका मतदातासंग मतदाताको मात्रै सम्बन्ध छैन् । भावनात्मक सम्बन्ध पनि गाँसिएको छ ।

त्यहीकारण होला उनी हरेक वर्ष दशैंमा टिकाजमरा लगाउन सबै कामलाई थाँतीमा राखेर पर्सागढीका पहाडी समुदायमा पुग्ने गर्छन् ।
उनी भन्छन्,‘बडा दशैं देशको ठूलो पर्व हो, यसले सबैसंग आत्मीयता बढाउँछ, प्रगाढ सम्बन्ध बनाउँछ, भाइचारा कायम रहन्छ । त्यसकारण यसको बेग्लै महत्व पनि छ ।’
उनका अनुसार मधेश आन्दोलनले केही हाम्रो सम्बन्धमा तिक्तता ल्याएको थियो ।

तर मेरो जहिले पनि चाहना रहन्छ सबै समुदायसंगको आपसी सम्बन्ध प्रगाढ रहोस,’ उनले भने ।
उनका अनुसार त्यहीकारण म जहिले पनि टिकाको बेला अरु कामलाई बेवास्ता गरी सबैसंग आर्शीवाद लिएर मधेशी र पहाडी समुदायबीचको खाँडल हटाउन तत्पर रहन्छु ।
उनले भने,‘मेरो निर्वाचन क्षेत्रमा धेरै हदसम्म यो खाँडल चिर्न सफल पनि भएको छु, दशैंमा सधै टिका लगाउँदा एउटा गज्जबको अनुभूति हुन्छ । जसबाट प्रष्ट हुन्छ, हाम्रो देश साँच्चिकै धार्मिक सहिष्णुता भएको देश हो ।’ उनका अनुसार यसले दुबै समुदायबीचको आपसी सम्बन्ध गहिरो बनाउँछ ।

यही कारणले पनि होला, अहिले सांसद चौरसियालाई भ्याइनभ्याइ छ । हरेक वर्ष जस्तै यो वर्ष पनि दशैंको टिकामा उनी ठूलाबडाबाट आर्शीवाद लिन आफ्नो निर्वाचन क्षेत्रको हरेक घरमा पुग्दैछन् ।
यो वर्ष झन् उनलाई जानैपर्ने अवस्था छ । कारण– उनी अहिले त्यही क्षेत्रबाट संसदमा प्रतिनिधित्व गर्दै जो छन् । यहीकारण अहिले उनलाई समयको व्यवस्थापनमा चटारो छ । सबैको घरमा पुग्न सांसद चौरसियाले विशेष योजना बनाएका छन् । त्यही योजना अनुसार उनी त्यही क्षेत्रका प्रदेश सांसद श्याम पटेलसंगै आफ्नो निर्वाचन क्षेत्रमा पुग्ने गर्दछन् ।

सांसद चौरसिया र प्रदेश सांसद पटेल दुबैले करिब ५ सय देखि एक हजार जनासंग टिकाजमरा लगाएर आर्शीवाद लिएको सांसदका स्वकीय सचिवले बताएका छन् ।
सांसदका स्वकीय सचिव चन्दन सहनीका अनुसार दुबै माननीयज्यूले विहानदेखि नै हरेक घरमा संगसंगै गएर टिकाजमरा लगाइरहनु भएको छ । यो तीनदिनमा करिब ५ सय देखि एक हजारजनासंग टिकाजमरा लगाइएको उनको अनुमान छ ।

बडा दशैंको आज १२ औंं दिन । अर्था्त शुक्ल द्वादशी । आफन्त तथा मान्यजनको हातबाट आज पनि नवदुर्गाको प्रसादका रूपमा टीका एवं समृद्धिको प्रतीक जमरा लगाइदै छ । त्रेता युगमा भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ ।

मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट क्षमता वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।
तराइ मधेशमा पहाडी समुदायबाहेककाले हिन्दू धर्मवालम्बीहरुले टिकाजमरा कम लगाउने गर्छन् । कारण– तराइ मधेशमा विशेष पर्वको रुपमा छठसहित दिपावली र होली पर्व मनाउने गरिन्छ । तर टिकाको पहिलोदिन भने मधेशका पनि अधिकांशले हिन्दू धर्मावलम्बीले टिकाजमरा लगाउँछन् ।


सम्बन्धित समाचार