Logo

९ कात्तिक, वीरगञ्ज । रक्तसञ्चार केन्द्र वीरगञ्जमा रगतको अभाव भएको छ । चाडपर्वको समयमा रक्तदानका कार्यक्रम नहुँदा रगतको अभाव भएको हो ।

बारा, पर्सा, रौतहट र सर्लाही गरी चार जिल्लाका सेवाग्राहीलाई आपत्कालीन अवस्थामा रगत उपलब्ध गराउदैँ आएको केन्द्रमा रगतको मौज्दात नरहेका कारण अहिले रगत लिन केन्द्रमा धाउने आफन्त र कुरुवा रित्तो हात फर्कन बाध्य भएका छन् । रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले चाडपर्वको कारण रक्तदानका कार्यक्रमहरू नियमित नहुँदा रगतको अभाव भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार दसैँ, तिहार, छठ पर्वमा रक्तदान कार्यक्रमहरू नै हुँदैन । सोही कारण यो समयमा केन्द्रमा अति रगतको अभाव हुन्छ । आफूहरुले समन्वय गरेर रक्तदाताहरु खोज्ने गरेको उहाँको भनाइ छ । करिब दुई हप्तादेखि नियमित रूपमा रक्तदानका कार्यक्रम नभएको प्रमुख पाण्डेले जानकारी दिनुभयो ।

रगत दानका लागि सचेतनामूलक कार्यक्रम नहुँदा र रक्तदातालाई प्रोत्साहन गर्न नसक्दा हरेक वर्ष चाडपर्वको बेलामा रगतको अभाव हुने गरेको उहाँको जिकिर छ । रगत अभाव भएपछि केन्द्रले रगतदान गरिदिन अपिल गरेको छ ।

रगतको माग अनुसार पूर्ति गर्न नसकेकाले रक्तदान गरेर जीवनदान दिन सबै रक्तदाता, रक्तदान गर्ने सङ्घसंस्था, रेडक्रसकर्मीमा रक्तदान कार्यक्रमको आयोजना गरिदिन रक्तसञ्चार केन्द्र वीरगञ्जले आग्रह गरेको हो ।


सम्बन्धित समाचार