१० कात्तिक,जनकपुर । मधेस प्रदेशका शिक्षामन्त्री महेशप्रसाद यादवले शिक्षालाई निजीकरण गर्ने रोगले नेपाल र मधेशको समग्र शिक्षाको गुणस्तर ध्वस्त भएको बताउनुभएको छ ।
महेन्द्र विन्देश्वरी बहुमुखी कलेजमा जिल्लाका बुद्धिजिवीहरुको आयोजनामा आयोजित मधेशको शैक्षिक अवस्थासम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री यादवले सो कुरा बताउनुभएको हो । शिक्षामन्त्री यादवले मधेस प्रदेशको शिक्षाको गुणस्तरमा काम गर्न अझै बाँकी रहेकाले वर्तमान सरकारले त्यसमा ध्यान दिइरहेको बताउनुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य डाक्टर सूर्य यादवको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षालाई निजिकरण गर्ने भनि नेपालको संविधानमा उल्लेख गरेको पक्ष नै विभेदपूर्ण तथा शिक्षाको गुणस्तर खस्काउने कारण रहेको बोडेवर्साइन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप यादवले बताउनुभयो ।
स्थानीय तहले पनि शैक्षिक गुणस्तर सुधार, प्राविधिक शिक्षाभन्दा भौतिक निर्माणतिर मात्र केन्द्रित भएको उहाँले टिप्पणी गर्नुभयो ।