Logo

१० कात्तिक,वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालको पर्सा जिल्ला समितिमा नेतृत्व सम्बन्धी विवाद चलिरहेकै बेला अर्को एउटा समूहले जिल्ला अगुवा कार्यकर्ता भेला बोलाएको छ । एउटा समूहले अर्को समूहका अध्यक्षलाई हटाएर नयाँ अध्यक्ष बनाएपछि त्यहाँ विवाद उत्पन्न भएको हो ।

यसरी विवाद उत्पन्न भएपछि मधेस प्रदेश समितिका अध्यक्ष रामबाबु यादवको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदल गठन भए पनि नयाँ अध्यक्ष सिंहासन साह तेलीले जिल्लाको अगुवा कार्यकर्ता भेला बोलाएका छन् । असोज ९ गते वीरगञ्जमा जिल्ला समितिको एउटा समूहको बैठक बसेको थियो ।

सो बैठकले बहुमतको निर्णय भन्दै रामनरेश यादवलाई अध्यक्षबाट हटाएर बहुदरमाई नगरपालिकाका मेयर सिंहासन साह तेलीलाई अध्यक्ष बनाएको थियो । तर त्यो निर्णयलाई अस्वीकार गर्दै रामनरेश यादवले विद्रोह गरेका थिए । पार्टीमा विवाद बढ्दै गएपछि मधेस प्रदेश कमिटीले हस्तक्षेप बढाएको छ । रामनरेश यादव र सिंहासन साह तेलीले आफूलाई जिल्लाको अध्यक्ष दाबी गर्दै राजनीतिक गतिविधि गरिरहेका छन् ।

कात्तिक १५ गते जिल्ला अगुवा कार्यकर्ता भेला बोलाएको जसपाका केन्द्रीय सदस्य प्रदीप यादवले बताए । पर्साका जिल्ला अध्यक्ष सिंहासन हुन्, त्यसमा विवाद देखिएपछि प्रदेश समितिले छानबिन समिति गठन गरेको छ तर अहिलेसम्म छानबिन सुरु नभएको कारण अध्यक्ष सिंहासनले भेला बोलाएको उनले बताए । कात्तिक १५ गते अगुवा कार्यकर्ता भेला सम्पन्न गरेर १७ गते पार्टी प्रवेश कार्यक्रम पनि अध्यक्ष सिंहासनकै अध्यक्षतामा राखिएको छ ।

यता रामनरेश यादवले पनि पर्सा जिल्ला अध्यक्ष आफू नै रहेको भन्दै आफ्नो अध्यक्षतामा कार्यक्रम गर्दै आएका छन् ।


सम्बन्धित समाचार