Logo

१० कात्तिक,वीरगञ्ज ।सर्लाहीको हरिवन नगरपालिका –३, डाबरीमा कोदालो प्रहार गरी छोराले बुवाको हत्या गरेका छन् । स्थानीय ३५ वर्षीय गोकर्ण मैनालीले घरायसी विवादमा कोदालो प्रहार गरी बुवा ८१ वर्षका ओमप्रसाद मैनालीको हत्या गरेका हुन् ।

गोकर्णले कोदालो प्रहार गर्दा ओमप्रसाद गम्भीर घाइते भएका थिए । ओमप्रसादलाई घाइते अवस्थामा गाउँलेले देखेपछि उपचारका लागि नमूना अस्पताल हरिवन ल्याएका थिए । यहाँ उपचार सम्भव नभएपछि उनलाई पुरानो मेडिकल कलेज चितवन रेफर गरिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

बुवाको हत्यामा संलग्न गोकर्णलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई हरिवन नगरपालिका–४ तीनघरे लच्का क्षेत्रमा हिँड्डुल गरिरहेको अवस्थामा आज पक्राउ गरिएको हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक गिरीका अनुसार घटनाको सम्वन्धमा थप अनुसन्धान जारी छ । बुवाको हत्यामा संलग्न गोकर्ण ओमप्रसादका माइलो छोरा हुन् । भारतमा बसेर मजदुरी गर्ने गोकर्ण दसैँ मनाउन भनी घर आएका थिए ।


सम्बन्धित समाचार