Logo

११ कात्तिक,वीरगञ्ज । नेपाली कांग्रेसले आज पार्टी कार्यालय सानेपामा चियापानको आयोजना गरेको छ । कांग्रेसको चियापान देशको राजधानीसंगै जिल्लाजिल्लामा आयोजना भइरहेको छ ।

बिपी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले विसं २०३४ देखि चियापान सुरु गरेको हो । त्यसपछि विसं २०३८ सम्म बिपीले यसलाई निरन्तरता दिएका थिए ।

त्यसयता कांग्रेसका सादगी नेता कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै अहिले कांग्रेस सभापति शेरबहादुर देउवाले चियापान कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

कांग्रेसले बडादशैंको अवसर पारेर हरेक वर्ष चियापान कार्यक्रम आयोजना गर्दै आएको छ । जुन कांग्रेसभित्र एउटा चलन झै बनेको छ ।
देशभर कांग्रेसले चियापान गरिरहँदा पर्सा कांग्रेस भने मौन बसेको छ । बिपी कोइरालादेखि चलिआएको चियापानको प्रथालाई पर्सा कांग्रेसले बेवास्ता गरेको पाइएको छ । जसका कारण पर्सा कांग्रेस नेतृत्वको आलोचना मात्र भइरहेको छैन, नेतृत्वको कार्यशैलीमाथि प्रश्न चिन्ह उठिरहेको छ ।

कांग्रेसवृतमा नेतृत्वको कमजोरीका कारण पर्सामा कांग्रेस हराउँदै गएको चर्चा चुलिदै गएको छ । जिल्लामा किन मनाइएन चियापान कार्यक्रमबारे रेसखबरले कांग्रेस पर्सासंग लिएको प्रतिक्रियामा चियापान कार्यक्रम मनाउन पार्टीको नीति नभएको बताइएको छ ।

पर्सा कांग्रेस सभापति जनार्दन सिंह क्षेत्रीले चियापान मनाउन पार्टी नीति नभएको जनाए । कोजाग्रत पूर्णिमामा मनाउने कांग्रेसभित्र परिपाटी रहेपनि पर्सा नेतृत्वले भने यसलाई इन्कार गरेको प्रतिक्रिया दिएको छ । तर त्यसको बाबजुद पनि छठसम्म चियापान कार्यक्रम गर्ने पर्सा कांग्रेसको तयारी रहेको सभापति क्षेत्रीले बताए ।

उनले भने,‘अहिले पार्टीका सबै नेताहरु केन्द्रको कार्यक्रममै व्यस्त हुनुहुन्छ, त्यसकारण सबै नेताहरुको अनुकूलताको आधारमा छठसम्म कार्यक्रम तय गरिनेछ । तर मनाउन चाँहि मनाउँछौं ।’ हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन कांग्रेसले चियापान गर्दै आएको छ, जुन पार्टीको चलन झै बनेको छ ।

 


सम्बन्धित समाचार