Logo

१२ कार्तिक, वीरगञ्ज । पर्सा प्रहरीले एकथान हतियारसहित दुइ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जाँच गर्दा पर्सा प्रहरीले एकथान नलकटुवा पेस्तोलसहित २ जनालाई पक्राउ गरेको हो ।

पर्सा प्रहरीले दुबैजनालाई गएको ५ गते बीरगन्जको दुई बेग्लाबेग्लै स्थानबाट पक्राउ गरेको थियो । प्रहरीमा आएको सूचनाको आधारमा बीरगन्ज महानगरपालिकाको वडा नम्बर २६ सुगौलीका सरफराज अन्सारी र साहिल अन्सारीलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले सुरुमा बीरगन्जको छपकैयाँबाट एकथान नलकटुवा पेस्तोलसहित साहिल अन्सारीलाई पक्राउ गरेको थियो । पक्राउ परेका साहिलले गरेको बयानको आधारमा थप सरफराजलाई पक्राउ गरिएको जनाइएको छ ।

पक्राउ परेका दुबैजनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान भइरहेको पर्साका एसपी कोमलविक्रम शाहले जनाए । प्रहरी हिरासतमा रहेका दुबै जनामाथि हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान म्याद थप भइ अनुसन्धान चलिरहेको पर्सा प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबैजनालाई सार्वजनिक गर्ने प्रहरीको तयारी रहेको स्रोतले जनाएको छ ।


सम्बन्धित समाचार