Logo

१३ कात्तिक,वीरगञ्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा अवैध चिनी बरामद गरेको छ । विशेष सूचनाको आधारमा जाँच गर्ने क्रममा पर्सा प्रहरीले चामल ढुवानी गर्ने ट्रकबाट चिनी बरामद गरेको जनाएको हो ।

बहुअर्वा भाठाबाट चामल लोड गरी जाँदै गरेको अवस्थामा जाँच गर्ने क्रममा प्रहरीले बीरगन्जको परवानीपुरबाट ट्रकसहित चिनी बरामद गरेको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिएको ट्रकबाट ५१ सय किलोग्राम भन्सार छलीका चिनी बरामद गरेको प्रहरी प्रमखु कोमल शाहले जनाए ।
उनका अनुसार चामल लोड गरी बीरगन्ज बाहिर जाँदै गरेको ट्रकलाई जाँच गर्दा १०२ बोरा चिनी र ३१७ बोरा चामल बरामद गरिएको हो । हरेक बोरामा ५० किलोग्राम चिनी रहेको पर्सा प्रहरीले जनाएको छ ।

ट्रकमा बाहिरको भागमा चामल र भित्री भागमा भन्सार छलीका चिनी राखिएको अवस्थामा फेला परेपछि अनुसन्धानको लागि नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ ।

बहुअर्वा भाठा जाँदै गरेको प्रदेश तीनको ७९१६ नम्बर ट्रकसहित बिना बिलको चामल र चिनी बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ ।
बरामद ट्रकसहित चिनी र चामल आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
स्रोतका अनुसार बहुअर्वा भाठामा रहेका अनुज खाद्य उद्योगका सञ्चालक रामकिशोर साहले पछिल्लो समय चामलको ट्रकमा चिनीको तस्करी गराइरहेका छन् ।

स्रोत भन्छ,‘भारतबाट उनकै गोडाउनमा चिनी ल्याएर जम्मा गरिन्छ, अनि त्यहीँबाट चामल पठाउने ट्रकमा लोड गरी चिनीको तस्करी हुने गरेको छ ।’ स्रोतका अनुसार समयदेखि साहले यसरी नै तस्करी गराइरहेका छन् ।

तर अनुज खाद्य उद्योगका सञ्चालक साहसंग यो बारेमा प्रतिक्रिया लिन खोज्दा उनी फोन सम्पर्कमा आएनन् । बारम्बार सम्पर्क गर्न खोज्दापछि उनले आफ्नो मोबाइलको ‘स्वीच अफ’ गरे ।


सम्बन्धित समाचार