Logo

१४ कात्तिक,काठमाण्डौ । मलेसियालाई हराउँदै नेपाल एक खेलअघि नै आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको फाइनलमा पुगेको छ । आज मङ्गलवार भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हरायो ।

मलेसियाले दिएको १ सय ६६ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाएर भेटायो । नेपालका कुशल मल्लले अर्धशतक बनाए । मल्ल ३४ बलमा ७ छक्का र २ चौका प्रहार गर्दै ६५ रन बनाएर आउट भए । यस्तै कुशल भुर्तेल ४३ र आसिफ शेख ३२ रन बनाएर आउट भए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनायो । मलेसियाका सइद अजिजले सर्वाधिक ६८ रन बनाए । बलिङतर्फ नेपालका अबिनाश बोहराले ४ तथा सन्दीप लामिछाने, गुलसन झा र कप्तान रोहित पौडेलले समान १ विकेट लिए ।

पहिलो खेलमा नेपालले हिजो सोमवार सिङ्गापुरलाई ८ विकेटले हराएको थियो । अब नेपालले बिहीवार ओमानसँग खेल्नेछ । नेपाल रहेको समूह ’ए’ मा सिङ्गापुर, ओमान र मलेसिया छन् । समूह ’बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् ।

छनोटको फाइनल पुग्ने २ वटा टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् । त्रिवि र मूलपानी क्रिकेट मैदानमा हुने खेल १९ गतेसम्म चल्नेछ ।

 


सम्बन्धित समाचार