Logo

१५ कात्तिक, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा एमआरआई सेवा सञ्चालनमा आएको छ । मेसिन जडान गरिएको झन्डै ६ महिनापछि उक्त सेवा प्रयोगमा आएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालले गत चैत महिनामै ३० करोड रुपैयाँमा खरिद गरी एमआरआई मेसिन ल्याएको थियो । तर प्राविधिक कारणले मेसिन प्रयोगविहीन बनेको थियो । गत असोज १३ गते अस्पतालको स्थापना दिवसमा सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले एमआरआई मेसिनको उद्घाटन गर्नुभएको थियो ।

अस्पतालका सूचना अधिकारी डा. उदय नारायण सिंहले सञ्चालनमा आएको पहिलोदिन तीन जना बिरामीको एमआरआई गरिएको बताउनुभयो । उक्त मेसिन नेपालभरमै उत्कृष्ट र अद्यावधिक मानिएको ७२ च्यानलको थ्री टेस्लाको रहेको उहाँको दाबी छ ।

नारायणी अस्पतालमा २ जना विशेषज्ञ, २ जना प्राविधिक तथा अन्य सहायकहरुले २४ औं घण्टा एमआरआइ सेवा प्रदान गरिरहेका छन् । डा. सिहंका अनुसार प्रत्येक दिन १० देखि १५ जनाले उक्त सेवा लिन सक्ने छन् । बाहिर ११–१३ हजार पर्ने एमआरआई पनि नारायणी अस्पतालमा ८ हजारमै हुने छ ।

नारायणीमै एमआरआई सेवा सुचारु भएपछि सेवाग्राहीलाई चर्को शुल्क तिरेर बाहिर एमआरआई बाध्यताबाट मुक्ती मिल्ने सामाजिक अभियान्ता प्रकाश थारुले जानकारी दिनुभयो । उहाँले यो सेवा दिर्घकालिन रुपमा चलाउने पर्नेमा जोड दिनुभयो ।

सरकारी अस्पतालबाटै सस्तो दरमा एमआरआई सेवा पाएपछि कम समय र खर्चबाटै विभिन्न रोग पत्ता लगाउन सहज भईरहेको सेवाग्राहीको भनाई छ ।

यसअघि अस्पतालमा एमआरआई सेवा उपलब्ध नहुँदा बिरामीलाई बाहिरका निजी अस्पतालमा जानुपर्ने बाध्यता थियो ।


सम्बन्धित समाचार