Logo

१५ कार्तिक,पोखरिया। खुला स्थानमा दिसा पिसाब गरेपछि पक्राउ परेका पर्साको पोखरिया नगरपालिका ६ जनालाई कारवाही स्वरुप एक एक हजार जरिवाना गरि छाडिएको छ ।

देश नै खुला दिशामुक्त क्षेत्र घोषणा भएको झण्डै ६ बर्षभन्दा बढी भईसकेपनि पोखरियाका स्थानीयले फेरी जथाभावी खुला स्थानमा दिसापिसाब गर्न थालेपछि पोखरिया नगरपालिकाले खुला दिसामुक्त क्षेत्र अभियानको प्रभावकारी कार्यान्वयनका लागि निगरानी गर्ने क्रममा ६ जना पक्राउ परेका थिए ।

पोखरिया नगरपालिकाका नगर प्रमुख प्रद्युम्न चौहानको नेतृत्वमा पोखरिया नगरपालिकाका नगर प्रहरी र इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले अनुगमन गर्ने क्रममा खुला स्थानमा दिसापिसाब गर्ने पोखरिया नगरपालिका वडा नम्बर १, ५, ६ र ७ बाट गरी ६ जनालाई पक्राउ गरिएको थियो ।

उनीहरुलाई जनही एक एक हजार रुपैंया जरिवाना लिएर आफन्तको जिम्मा लगाई छोडिएको पोखरिया नगरपालिकाका नगर प्रमुख प्रद्युम्न चौहानले बताउनुभयो । खुला स्थानमा दिसापिसाब गर्नेहरुको साँझ पनि निगरानी गरिने नगर प्रमुख चौहानले बताउनभयो ।

पर्साका सबै गाउँपालिकाहरुमा शौचालय निर्माण गरी खुला दिसामुक्त क्षेत्र घोषणा गरिएपनि अहिले ठोरी गाउँपालिका बाहेकका अधिकांश गाउँपालिकामा फेरी खुला स्थानमा दिसापिसाब गर्ने प्रवृत्ति बढेको छ । खुला दिसामुक्त क्षेत्र घोषणापछि स्थानीय तहले त्यसलाई निरन्तर निगरानी र सचेतनामा ध्यान नदिँदा पुनःखुला स्थानमा दिसापिसाब गर्ने खराब प्रवृत्ति दोहोरिएको छ ।

 


सम्बन्धित समाचार