Logo

१६ कार्तिक, जनकपुर । नेपाल–भारत सिमानाकामा सीमास्तम्भहरुको मर्मत सम्भार तथा रंगरोगन गर्ने कामको नेपाल सशस्त्र प्रहरी बलले अभियान थालेको छ ।

मधेश प्रदेशका आठवटै जिल्लामा पर्ने नेपाल–भारत सिमानाकामा रहेको सीमास्तम्भहरुको पुनर्निर्माण, मर्मत सम्भार तथा रंगरोगनको काम आजदेखि थालिएको हो ।

मधेश प्रदेशको आठ वटै जिल्ला भारतसँग जोडिएको छ । सो क्षेत्रमा करिब चार हजार भन्दा बढि सीमास्तम्भहरु रहेको छ । तर सो मध्ये १ हजार सिमास्तम्भको मर्मत सम्भार तथा रंगरोगनको काम सुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता वाहिनी मुख्यालयका प्रमुख दीपेन्द्र शाहले जानकारी दिए ।

मधेशको आठवटै जिल्लामा आजबाट सो कार्य प्रारम्भ भएको छ । धनुषाका मात्र करिब १ सय ५० भन्दा माथि सीमास्तम्भको मर्मत सम्भार तथा रंगरोगन हुने शसस्त्र प्रहरी बल धनुषाका प्रहरी उपरिक्षक दिनेश मल्लले बताए ।

बिहीबार धनुषाको सीमावर्ती नगरपालिका नगराईन नगरपालिकाको वडा नम्बर २ स्थित जटही नाकामा पर्ने सिमा नम्बर २८५÷४ बाट सो कार्यको सुरुवात गरिएको छ ।

०७७ साउन १९ गते भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्णय अनुसार सिमानाका अवस्थित सीमास्तम्भहरु मध्ये विजोरा नम्बरका सीमास्तम्भहरुको पुनर्निर्माण, मर्मत सम्भार रंगरोगनको काम नेपाल पक्षले गर्ने निर्णय बमोजिम सो कार्यको थालनी भएको बताइएको छ ।

नेपाल तथा भारत गरी दुवै पक्षका सिमा सुरक्षाबलका प्रमुखहरुले यसले सिमा स्तम्भको मात्र नभइ दुई देशकै सुरक्षा, सदभाव र प्राविधिक जटिलताको समाधान हुने बताए ।

यस अवसरमा नगराई नगरपालिकाका प्रमुख विनय कुमार यादव, मुखियापट्टी मुसहरनिया गाँउपालिकाका अध्यक्ष जय कुमार यादव, सम्बन्धित वडाका वडा अध्यक्ष, शसस्त्र प्रहरी बल धनुषाका प्रहरी उपरिक्षक दिनेश मल्ल, जिल्ला प्रशासन कार्यालय धनुषा सहितका प्रतिनिधीहरुसमेतको उपस्थिती रहेको थियो ।


सम्बन्धित समाचार