Logo

१७ कात्तिक,जनकपुर । धनुषा–सिरहा जोड्ने कमला नदीमा डेढ किलोमिटर लामो झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
कमला नदीमा पुल नहुँदा आफ्नै भूमिमा आवतजावत गर्नका लागि पनि भारतको बाटो भएर घण्टौ हिड्न बाध्य रहेका स्थानीयवासी भने पुल निर्माण कार्य अन्तिम चरणमा पुगेपछि खुसी भएका छन् ।

धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर ६ स्थित कठाल गाउँभन्दा पूर्व कमला नदी तटमा तिव्रगतिमा झोलुङ्गे पुल निर्माण भइरहेको छ । पुल निर्माणका लागि ४२ जना प्राविधिक र कामदारहरु खटिएका छन् ।

करिब २८ करोड रुपैयाँको लगानीमा निर्माण भइरहेको झोलुङ्गे पूल १५०१ मिटर लामो बन्ने छ । सपना उमा थानी जेभी कन्सट्रक्सन कम्पनीको ठेक्कामा निर्माण हुन लागेको कमला झोलुङ्गे पुल आगामी वर्ष असार महिनासम्ममा सुचारु गर्ने योजना रहेको ईन्जिनीयर विनोद कुमार मण्डलले जनाएका छन् ।

निर्माण हुन लागेको झोलुङ्गे पूलमा एकै पटकमा २५०० जना मानिस चढ्न सक्ने क्षमताको रहेको उनले बताए । १० वटा पिल्लर रहेको झोलुङ्गे पुल सिरहा तर्फबाट सिरहा नगरपालिका वडा नम्बर १३ स्थित मल्हनीयाँ गम्हरियासम्म रहेको छ ।

यही असोज महिनादेखि सुरु भएको झोलुङ्गे पुलको काम २०८१ असार मसान्तसम्ममा सञ्चालनमा ल्याउने तयारी रहेको उनले बताए ।
पूर्वपश्चिम हुलाकी मार्गदेखि केही दुरीमा बनिरहेको झोलुङ्गे पुल निर्माण भएपछि आवतजवातमा धनुषा तथा सिरहाका स्थानीयवासीसमेतलाई आवागमनका लािग सहज र छोटो दुरीको सडकको रुपमा रहनेछ ।

झोलुङ्गे पूल निर्माणपछि नेपाल–भारत सिमावर्ती क्षेत्र तर्फका भारतीय तथा आन्तरिक पर्यटकहरुकोसमेत चहलपहल बढ्ने छ ।

 


सम्बन्धित समाचार