Logo

१८ कात्तिक, काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी रुकुम पश्चिममा मात्रै ३६ भन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ । रुकुम पश्चिमका डिएसपी नमराज भट्टराईले उक्त जानकारी दिएका हुन् ।

आज बिहान ५ बजेसम्मको विवरण अनुसार ३६ प्लसको मृत्यु भएको छ भने ५३ जना अस्पतालमा भर्ना हुनु भएको छ ।’

उनका अनुसार रुकुम पश्चिमका आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिका भूकम्पले बढी प्रभावित भएका छन् । भूकम्पले घर र गोठहरु भत्किएका छन् भने सडकहरु पनि अवरुद्ध भएका छन् ।

डिएसपी भट्टराईका अनुसार मध्यपहाडी लोकमार्गमा सुक्खा पहिरो खसेर बाटो अवरुद्ध र त्यसलाई पन्छाउने काम जारी छ । पालिकाभित्रका अन्य सहायक सडकहरुमा पनि सुक्खा पहिरो गएको छ ।

चौरजहारी नगरपालिकाकी उपप्रमुख ईश्वरी शर्माका अनुसार चौरजहारीस्थित मिसन अस्पताल र खोलागाउँस्थित शहीद स्मृति अस्पतालमा गरी करिब दुई दर्जन घाइतेहरु उपचाररत छन् । धेरै घाइतेहरु मिसन अस्पतालमा छन् । गम्भीर घाइतेहरुलाई थप उपचारका लागि एम्बुलेन्स मार्फत सुर्खेत, नेपालगन्ज लगायतका स्थानमा रिफर गरिएको छ ।

भूकम्प प्रभावित क्षेत्रबाट घाइतेहरुलाई अस्पतालमा ल्याउने र उपचार गराउने काममा नगरप्रहरी, स्वास्थ्यकर्मी, कर्मचार र जनप्रतिनिधिहरु खटिएका छन् ।

चौरजहारी नगरपालिका–७ खत्रीगाउँमा भूकम्पले घर भत्किँदा घाइते भएका ८ जनालाई चौरजहारी नगर प्रहरीले उद्धार गरी एम्बुलेन्समार्फत् चौरजहारी अस्पतालमा ल्याएको छ ।

भूकम्पबाट बालबालिका, बुढाबुढीहरु बढी प्रभावित भएका छन् । गोठ भत्किएर पशु चौपाया पुरिएर मरेका छन् । त्यसको विवरण संकलन गर्न बाँकी छ ।

सानीभेरी र चौरजहाजरी नगरपालिकाको बीचमा पर्ने बाटो अवरुद्ध भएकाले डोजरको सहायताले खुलाउने प्रयास भइरहेको छ ।

भूकम्पमा परी जाजरकोट जिल्लामा मात्रै २१ जनाको मृत्यु भएको आधिकारिक जानकारी प्राप्त भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार भेरी नगरपालिकामा १० जना, कुशे गाउँपालिकामा ८ जना र नलगाढ नगरपालिकामा ३ जनाको मृत्यु भएको पुष्टि भएको हो ।

अहिले खलंगा जिल्ला अस्पतालमा ३५ जनाको उपचार भइरहेको छ भने घाइतेहरूलाई अस्पताल ल्याउने क्रम जारी छ । कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले कुशे गाउँपालिका वडा नम्बर ७ मा १ सयभन्दा बढी घर भत्किएको र ८ जनाको मृत्यु भएको बताए । कुशे गाउँपालिका भूकम्पको केन्द्रविन्दु रहेको बारेकोट गाउँपालिकाको रामीडाँडासँगै जोडिएको स्थान हो ।


सम्बन्धित समाचार