Logo

१८कात्तिक,काठमाण्डौ । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी अहिलेसम्म एक सय ३३ जनाको ज्यान गएको छ । भूकम्पबाट अहिलेसम्म दुवै जिल्लामा गरी एक सय ८५ जना घाइते भएका छन् ।

सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा ९५ जनाको तथा रुकुम पश्चिममा ३८ जनाको ज्यान गएको छ । घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज तथा अन्य ठाउँमा लैजाने क्रम जारी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहानै प्रभावित क्षेत्रमा पुगेर उद्धारको पहलमा जुटिरहनुभएको छ । उहाँ चिकित्सक टोली र राहतसामग्रीसहित प्रभावित क्षेत्रमा पुग्नुभएको हो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुटेको छ । प्रभावित क्षेत्रमा यसका लागि एक हजार पाँच सय जनाभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यसैबीच भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहतका लागि पाँचवटा हेलिकप्टर तथा जहाजको प्रयोग गरेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार ३३ घाइतेको जिल्ला अस्पताल जाजरकोट र रुकुम पश्चिमबाट हेलिकप्टरमा उद्धार गरी उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

राहत तथा उद्धारका लागि चिकित्सकसहितको टोली घटनास्थलमा पुर्याउने काम भइरहेको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो । काठमाण्डौ, सुर्खेत र नेपालगञ्जमा चिकित्सकसहितको टोली तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो ।

गए राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ।


सम्बन्धित समाचार