Logo

२० कात्तिक,ठोेरी । सयपत्री फूलको खेती गरेका ठोरीका किसानलाई तिहार नजिकिएसँगै बजारको चिन्ता पर्न थालेको छ । अघिल्ला वर्षहरुमा बजारको माग अनुसार फुल उत्पादन गर्न नसकेका यहाँका किसानलाई यस वर्ष भने बजारको चिन्ताले पिरोलेको हो ।

उत्पादन राम्रो भएपनि बिक्री गर्न पर्याप्त बजार नहुँदा किसानलाई चिन्ता पर्न थालेको ठोरी –३, बुद्धनगरका किसान अरुण अधिकारीले बताउनुभयो । अघिल्लो वर्ष १० क्विन्टल फूलको माग भएपनि ठोरीमा मात्र ५ क्विन्टल मात्र उत्पादन भएको उहाँले बताउनुभयो ।

गत वर्ष माग अनुसार फूल नभएकाले यस वर्ष वरपरका अन्य किसानलाई समेत अधिकारी आफैंले फूल खेती गर्न लगाएका छन्। तर अघिल्लो वर्ष जस्तो फुलको माग नहुँदा अहिले समस्या भएको हो ।

ठोरीको बुद्धनगरमा ७ जना किसानले करीब डेढ बिघा खेतमा सयपत्री फूल खेती गरेका छन्। बुद्धनगरका अगुवा किसान अधिकारीकै सक्रीयतमा फूल लगाएका किसानको हालसम्म फूल किन्ने व्यापारीसंग सम्पर्क भएको छैन्। अघिल्लो वर्ष बिरगंजका व्यापारीलाई फूल बेचेका अधिकारीलाई यस वर्ष सबैको फूल बेच्नुपर्ने बाध्यता पनि छ ।

कम लगानी र बढि मुनाफा गर्न सकिने भएकाले फूल खेतीमा ठोरीका किसानहरुको आकर्षण क्रमशः बढ्न थालेको बेला बजारको समस्या हुँदा फूल खेतीबाट किसान विस्थापन होलान् भन्ने चिन्ता रहेको अधिकारीले बताउनुभयो।

भारतको कलकत्ताबाट उन्नत जातको सयपत्री फूल लगाएका किसानको फूलको बिउ खरीद गर्दा सरदर प्रतिकट्ठा रु १ हजार र मलखाद तथा जोतखनमा प्रति कठ्ठा करीब रु १५ सय खर्च हुने किसानहरु बताउँछन् ।

राम्रो उत्पादनमा भएमा प्रतिकट्ठा सयपत्री ४ क्विन्टल सम्म उत्पादन हुने किसान अधिकारीले बताउनुभयो । पोहोर साल प्रति किलोग्राम रु १ सय २० मा फूल बिक्री भएको थियो । यस वर्ष अघिल्लो वर्षको तुलनामा उत्पादन राम्रो भएको किसानहरुको भनाई छ ।

सरकारले हालसालै भारतीय सयपत्री फूल आयातमा रोक लगाएपनि ठोरीका किसानको बजारमा पहुँच नहुँदा समस्या निम्तिएको हो ।


सम्बन्धित समाचार