Logo

२२ कात्तिक,बारा ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१४ रजघट्टामा रहेको भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई निस्सा(जग्गा प्राप्त गर्ने प्रमाणपत्र) वितरण कार्य सुरु भएको छ ।

मंगलबार एक कार्यक्रमकाबीच पुर्ब मन्त्री पुरुषोत्तम पौडेल ,प्रदेश सभा सदस्य मञ्जु थापा ,जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेल र वडा अध्यक्ष चयन गुरुङ्गले संयुक्त रुपमा भूमिहीन दलित तथा सुकुम्वासीलाई निस्सा वितरण कार्यको सुरुवात गरेका छन् ।

वडा नं.१४ मा ५ सय ५० जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरु रहेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१ ,२ ,१५ ,१७ र २२ मा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको कार्य अगाडि बढाईएको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

वडा नं.१६ र १८ मा निस्सा बितरण गरिसकिएको छ भने १४ मा बितरण भईरहेको नगर प्रमुख पौडेलले जानकारी दिए । नगर प्रमुख पौडेलले वडा सहजीकरण समितीबाट नै बिवाद निरुपण गरेर नगरमा पठाएको खण्डमा काममा कुनै बिवाद नभई जग्गा प्राप्तिको प्रक्रिया द्रुत गतिमा अघि बढ्ने जानकारी दिए ।

उनले वडा सहजीकरण समितीमा बिवाद भएको खण्डमा सहज रुपमा समाधान गर्न सक्ने हेतुले नगर स्तरीय सहजीकरण समितीमा राष्ट्रिय पाटीको मान्यता प्राप्त पाटीका नगर अध्यक्षहरुलाई नै राखेको बताए ।

त्यस्तै वडा अध्यक्ष गुरुङ्गले तिहार अगाडिसम्ममा निस्सा बितरणको कार्यलाई सकाईसक्ने लक्ष्य रहेको जानकारी दिईन् । जीतपुरसिमरा उपमहानगरपालिकाले छिटै नै जग्गाको लालपुर्जा वितरणका लागि प्रक्रिया सुरु हुने बताइएको छ ।

अब ,नापी कार्यालयबाट प्राविधिकहरु फिल्डमा गएर नाँपजाँच गर्ने र जग्गा वितरण गर्नका लागि प्रक्रिया अघि बढ्ने छ । सो क्रममा उनीहरु बसेको ठाउँमा जग्गा खोजी गरिने र त्यहाँ नपाएको खण्डमा सार्वजनिक जग्गाको खोजी गरिने कार्य हुने जनाईएको छ ।

 

 


सम्बन्धित समाचार