Logo

२२ कात्तिक,वीरगञ्ज । तिहार तथा छठ पर्व नजिकिदैँ जादाँ वीगरञ्जको घण्टाघरमा कुम्हाले समुदायलाई माटोका भाँडा बनाएर बिक्री वितरण गर्न भ्याइनभ्याइ भएको छ । एक बिहानैदेखि अबेर रातीसम्म माटोको भाडा बनाउन उनीहरु व्यस्त बनेका छन् ।

उनीहरुले माटोको विभिन्न प्रकारको भाँडा बनाउने तथा भारतबाट किनेर ल्याउने गरेका छन् । तिहारमा माटोको दियो, कलश, ढकनी, चौमुखे ९ चारवटा मुख भएको० दियो र हात्ती लगायतका समाग्री बिक्री वितरण गर्ने गर्दछन् ।
वीरगञ्जको घण्टाघरमा ५ दिनदेखि भाँडाको पसल संचालन गरेका सर्लाहीका बिनोद साहलाई व्यापार नै नहुने हो कि भन्ने चिन्ताले सताएको बताउँछन् ।

पछिल्लो वर्षभन्दा पनि यसवर्षको व्यापारमा निकै कमी आएको उनले जनाए । हरेक वर्ष झै यसवर्ष पनि १ लाखको लगानीमा व्यापार चलाएको उनको भनाइ छ । उनले भारतको गुजरातबाट माटोको दियो, कलश, ढकनी र चौमुखे दियो लगायतको सामानहरु किनेर ल्याएको बताएका छन् ।

पाचौँ दिन सुरु हुदाँ समेत व्यापारबाट खासै राम्रो आम्दनी नभएको उनको गुनासो छ । उनले भने, ‘पसल संचालन गरेको आज पाँचै दिन हो, ‘अहिलेसम्म जम्मा ८ हजारको व्यापार भएको छ, ‘अहिले ५ दिन अझै छ। माताको कृपा भयो भने यसपाली पनि राम्रो आम्दनी हुन्छ।’ चाडपर्वमा प्रयोग हुने माटोको भाँडा सहजरुपमा उपलब्ध गराउने हेतुले काममा तल्लिन भएको पर्साको पकहामैनपुरका जितेन्द्र साह पण्डितले बताए ।

दीपावली तथा छठपर्वमा दियो, चौमुखे दियो, कलश लगायतका सामग्रीको अत्याधिक माग हुने भएकाले आफूहरु समान बनाउने काममा लागेको पण्डितको भनाई छ । चाडपर्वमा खर्च कटाएर माटाको भाँडा बेच्दा ३० हजार बचत हुने गरेको उनीहरु बताउँछन् । फुर्सदिलो समय निकालेर महिलाहरु पनि यतिबेला पुरुषहरुलाई सहयोग गर्ने गर्दछन् ।

कुम्हाले समुदायका अधिकांश व्यक्ति माटाका भाडाकुँडा बनाएर बिक्री बितरण गर्दै घरपरिवारको खर्च जोहो गर्दछन् । चाडपर्वमा सहज रुपमा माटाको भाँडाहरु उपलब्ध गराउन महिनौ दिनदेखि लागिपरेको भएपनि भ्याइनभ्याइ हुने गरेको उनीहरु बताउछन् । उनीहरु हात तथा मेशिनबाट भाँडा बनाई ग्रामीण भेगगदेखि शहरसम्म बेच्ने गर्दछन् ।


सम्बन्धित समाचार