Logo

२३ कात्तिक,चितवन । चितवनको भरतपुर महानगरपालिका र उत्तरी छिमेकी देश चीनको सिगात्से शहरको बीचमा भगिनी सम्बन्ध कायम भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बिहीबार भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र चीनको स्वशासित क्षेत्र सिगात्से शहरका मेयर लिउ स्वाचुङ्गबीच दुई शहरका बीचमा भगिनी सम्बन्ध कायम गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा दुई शहरका बीचमा पारस्परिक सम्मान, आपसी राजनीतिक विश्वास, समानता र पारस्परिक लाभको सिद्धान्तलाई कायम राख्दै दुवै पक्षले मैत्रीपूर्ण रुपमा सहयोग आदानप्रदान गर्ने उल्लेख छ ।

त्यस्तै, साझा समृद्धि र विकासलाई प्रवर्द्धन गर्न दुवै पक्षले अर्थतन्त्र, संस्कृति, कृषि, पशुपालन र पर्यटन लगायतका क्षेत्रमा विभिन्न सहयोग आदानप्रदान गरिने समझदारी भएको छ । समझदारीपत्र हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिकाकी मेयर दाहालले सिगात्से शहरहरु भगिनी सम्बन्ध राख्न पाएको भन्दै खुशी व्यक्त गरिन् । उनले यो समझदारीले आगामी दिनमा दुई देश र दुई शहरबीचमा बलियो र प्रगाढ सम्बन्ध बन्ने विश्वास व्यक्त गरे ।

सो भगिनी सम्बन्ध पाँच वर्षको लागि मान्य हुने र समझदारी पत्रको वैधता अवधि समाप्त भएपछि कुनै पक्षले असहमति नजनाए भगिनी सम्बन्ध स्वतः कायम रहने छ ।

 


सम्बन्धित समाचार