Logo

२४ कात्तिक, बारा । दिपावली ,तिहार र छठ नजिकिँदै गर्दा बाराको जीतपुर बजारमा कानुनले बन्देज गरेको पटका आतंक बढ्न थालेको छ ।

बेलुकाको समयमा खुलेआम पटका बिक्री वितरण र पड्काउने कार्य भइरहेको छ। तर यता प्रहरी र जिल्ला प्रशासन कार्यालयले भने नियमन गरेको देखिँदैन । तिहारको बेला पटका पटकाउन र बिक्री वितरणमा कानुनले निषेध गरेको छ।

बारा प्रहरी उपरिक्षक सुरेश काफ्लेले पटका पड्काउन र बिक्री वितरण गर्न नपाइने भन्दै यसको नियन्त्रणमा लागेको दाबी गरे। यसको रोकथामको लागि प्रहरी परिचालन गरिएको उनको भनाइ छ। उनले भने, ‘पटका पड्काउन पाइँदैन, त्यस्तो गरेको पाए नजिकको प्रहरी वा हामीलाई जानकारी गराउनु, तुरुन्तै कारबाही हुन्छ।’ उनले पटका आयात गर्न नदिन विभिन्न सीमा नाकामा पनि कडाइपूर्वक चेक भइरहेको बताए।

‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना कार्यान्वयनमै छ, बिक्री गर्ने पसलहरूमा पनि छापा मार्छौं, यस्तो गरेको पाइए कालोबजारीलगायत कसुरमा कारबाही हुन्छ,’ प्रहरी उपरिक्षक काफ्लेले भने। ‘यस्तो कार्य रोक्न हामीले विशेष सुरक्षा परिचालन गरेका छौँ,’ उनले भने, ‘बजार अनुगमन भइरहेको छ, कसैले लुकीछिपी त्यस्तो कार्य गरेको पाइए प्रहरीलाई खबर गर्नु।’ तिहार नआउँदै बाराको जीतपुर बजार लगायत विभिन्न क्षेत्रमा पटका आतंक बढेको छ।

प्रहरीले यसको नियमन र अनुगमन नगरे झनै तिहारको बेला यस्तो कार्य बढ्ने देखिन्छ। यसबाट आगलागीजस्ता घटना निम्तिने देखिन्छ। यता ईलाका प्रहरी कार्यालय जीतपुरका बरिष्ठ प्रहरी नायब निरिक्षक रमण पण्डितले आफुलाई यस बिषयमा केही जानकारी नभएको बताएका छन् ।

तपाईले जानकारी दिनुभयो धन्यबाद, म अहिले नियन्त्रण गर्छु उनले भने ।


सम्बन्धित समाचार