२८ कार्तिक, वीरगञ्ज । सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपछि निर्णयको पक्ष र विपक्षमा प्रतिकृयाहरु आइरहेका छन् । सामाजिक सद्भाव र व्यक्तिगत धृणा फैलाउने माध्यमको रुपमा दुरुपयोग हुन थालेपछि सरकारले समाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको हो।
सामाजिक सद्भाव, व्यक्तिगत धृणा फैलाउने र देशको अखण्डता माथि आचआउने खालका विषयहरु टिकटकमा आउन थालेपछि सरकारले टिकटक नियन्त्रण गर्ने अवस्थामा पुगेको हो । टिकटकका कारण साइबर अपराधका घटनाहरु बढेपछि यसलाई नियमन गर्ने विषयमा टिकटकको अन्तर्राष्ट्रिय प्रतिनिधिबीच छलफल भएको थियो । नियमनमा टिकटकले सहजीकरण नगर्ने भएपछि सरकारले टिकटकलाई बन्द गर्ने निर्णयमा पुगेको हो ।
टिकटकले नेपाली सामाजलाई विकृति तर्फ उन्मुख बनाउन थालेपछि सरकारले लामोसमय देखि टिकटक नियमन गर्ने विषयमा टिकटकको अन्तर्राष्ट्रिय प्रतिनिधिसँग छलफल गर्दै आएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ र प्रमुख विपक्षी दलका नेताहरूसँग समेत सामाजिक सञ्जाल नियमनको विषयमा छलफल गरेका थिए । छलफलमा सत्तासाझेदार मुख्य दल कांग्रेसका सभापति शेरबहादुर देउवादेखि प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसम्मले टिकटकले ल्याएको विकृतिबारे बैठकमै छलफल गरेका थिए ।
प्रधानमन्त्रीले सामाजिक सञ्जाल प्रयोगसम्बन्धि निर्देशिका जारी गर्नलाई सहज होस् भन्ने उद्देश्यले बैठक राखेका थिए । उक्त बैठकमा सबै दलका नेताहरुले कुनै न कुनै रुपमा विकृति फैलाइरहेका माध्यमहरुलाई नियमन जरुरी रहेको भन्ने साझा अभिव्यक्ति पाएपछि सरकारले सोमबारको बैठकबाट टिकटकलाई बन्द गर्ने निर्णय गरेको हो ।
टिकटक बन्द गर्ने सरकारको निर्णयलाई लिएर तत्काल दुईथरी प्रतिक्रिया आएका छन् । यो निर्णयलाई लिएर समाजिक सञ्जालहरुमै पनि फरक फरक मतहरु प्रकट भएका छन् । कांग्रेस महामन्त्री गगन थापा र रार्ष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सरकारको निर्णयको आलोचना गरेका छन् ।
केहीले यो निर्णय ठीक भएको पनि बताएका छन् । बन्द गर्ने कुरा ठीक नभएको भन्नेहरुले अभिव्यक्ति स्वतन्त्रताको अधिकारप्रति इंगित गरेका छन् । तर अभिव्यक्ति स्वतन्त्रता प्रयोग अराजकताको हदमा नहुने सरकारको धारणा छ ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले अभिव्यक्ति स्वतन्त्रता आधारभूत अधिकार भएपनि जसले जसलाई जे बोले पनि हुने प्रवृत्ति बढेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको बताउनु भयो ।
मन्त्री शर्माका अनुसार पछिल्लो ४ वर्ष ३ महिनाभित्रमा नेपाल प्रहरीमा १ हजार ६ सय ४८ वटा साइबर अपराधका उजुरी दर्ता भएकोमा अधिकांश टिकटकसँग सम्बन्धित भएको तथ्यांक छ ।
२०७८र७९ मा २ सय ३३ वटा उजुरी दर्ता भएकामा अर्को आवमा ७ सय २१ वटा र २०८०र८१ को तीन महिनामै ६ सय २० वटा उजुरी परिसकेका छन् । पछिल्लो ४ वर्ष ३ महिनाभित्रमा १ हजार ६ सय ४८ वटा साइबर अपराधका उजुरी दर्ता भएका छन् ।
अधिकांश साइबर मुद्दा टिकटकसँग सम्बन्धित छन् । यसरी उजुरीहरु बढ्दै जाँदा टिकटकलगायत सामाजिक सञ्जालको दुरुपयोगले समाजमा बढ्दो घृणा, अश्लीलता र चरित्र हत्याका घटना सरकारको टाउको दुखाइ भइरहेको थियो ।
फेक एकाउन्ट खोलेर जसले जसलाई जे पनि गर्न सक्ने र बदनाम गराउने सामग्रीलाई स्वतः हटाउने कुनै संयन्त्र टिकटकमा छैन । टिकटकले प्रयोगकर्ताको रुचिअनुसारका अन्तहीन भिडियोहरू मोबाइलका स्क्रिनमा आउने गरी एलगोरिदम सेट गरेको हुनाले घण्टौंसम्म यसलाई चलाउने लतमा संसारभर रहेको अनुसन्धानले देखाएका छन् ।
जसले आम रूपमा अनिद्रा, एन्जाइटी, डिप्रेसनजस्ता मानसिक रोगको प्रकोप नै निम्त्याएको मनोविद्हरू बताउँछन् । कुनै पनि लत लाग्नु भनेको मस्तिष्कका लागि कडा लागूऔषधको लत लाग्नुसरह नै खतरनाक हुन्छ, दुर्भाग्यवश ठूलो संख्यामा नेपालमापनि मानिसहरूमा टिकटकको लत लागेको देखिन्छ जसले सोच्नै नसकिने मानसिक समस्याहरू निम्त्याइरहेको मनोविद्हरुको भनाई छ ।
नेपालमा सोमबार जे कारणले टिकटक बन्द गर्ने निर्णय गरियो अन्य मुलुकहरुमा पनि यो नौलो होइन । विश्वभर नै चर्चित बनेको यो सामाजिक सञ्जाल आंशिक र पूर्णरुपमा बन्द गर्ने अन्य ठूल्ठूला मुलुकहरु पनि छन् ।
छिमेकी भारत, अफगानिस्तानलगायत देशले टिकटकलाई प्रतिबन्ध नै लगाएका छन् । अभिव्यक्ति स्वतन्त्रताको धुरन्धर पक्षधर धेरै ठूला लोकतान्त्रिक मुलुकहरु अमेरिका, फ्रान्स, क्यानडा, बेलायतले जस्ताले पनि टिकटक निर्वाध प्रयोगमामा रोक लगाएका छन् । केही मुलुकहरुले सरकारको गोपनीयता भंग हुने, राष्ट्रिय सुरक्षा र डाटा सुरक्षाको चिन्ताले बन्द गराएका छन् ।
अमेरिकालगायत पश्चिमा देशहरू टिकटकमार्फत चिनियाँ सरकारले संवेदनशील जानकारीमा पहुँच प्राप्त गरेकामा चिन्तित छन् ।
अमेरिकाले आफ्ना टिकटक प्रयोगकर्ता नागरिकको विवरण देशबाहिर लैजान प्रतिबन्ध लगाएपछि टिकटकले हालै त्यहाँ स्थानीय साइबर बनाएको छ ।