Logo

विशाल पटेल

२९ कात्तिक, वीरगञ्ज । आज तिहारको मुख्य दिन भाइटिका अर्थात तराई मधेशमा मनाइने ‘भइयादुज’ पर्व, दिदी–बहिनीले आफ्ना दाजु–भाइहरुको दिर्घायुको कामना गर्दै मानाउँदै छन् ।
गोवर्द्धन पूजाको भोलिपल्ट भैया दुज अर्थात भाइटिका मनाइन्छ ।

‘गोधन’मा प्रयोग भएको गोबरका आकृति यसै दिन टोलैपिच्छे जम्मा गरेर त्यसमा लोक विधिहरू पूरा गरिन्छ, जसलाई गोधन कुटाई भनिन्छ ।
कुट्नका लागि गोधन राखिएको ठाउँमा महिलाहरूले घेरा हाली समूहमा गीत गाउँछन् ।

हलो जोत्दा गोरु/राँगोको काँधमा राख्न प्रयोग हुने काठको जुवा (बलि)लाई यहाँ भाइको प्रतीकको रूपमा राखिन्छ ।
यो दिन गाइने भाकालाई ‘श्रापे के’ भन्ने चलन छ ।

सहभागी महिलाले दाजुभाइको मृत्यु भएको र भाउजू विधवा भएको प्रसंगका गीतसमेत यहाँ गाउँछन् ।
दाजुभाइलाई श्राप दिएपछि सहभागीहरूले रेंगनीको काँडा आफ्नो जिब्रोमा घोच्दै त्यस्तो अनिष्टको गीत गाउने जिभ्रोलाई प्रतिकात्मक रूपमा दण्डित दिएको अभिनय गर्छन् । र, सो काँडालाई माटोको हाँडीमा जम्मा गरिन्छ ।
गीतको अर्को चरणमा उनीहरू आशिष् दिएर दाजुभाइ जीवित भएको र भाउजू अखण्ड सौभाग्यवती भएको चर्चा गर्छन् । दाजुभाइको दीर्घायुको कामना गर्दै यो क्रम सकिन्छ ।

दाजुभाइउपर आइपर्न सक्ने संकटको कल्पना गर्दै, लगत्तै बहिनीको आशिषले संकट टरेको सन्देश यसमार्फत दिन खोजिएको वीरगन्ज निवासी रजनी यादवले बताइन ।
फलफूल र केराउ लगायत सामग्री चढाएर दियो बाल्दै सामूहिक पूजा हुन्छ । ‘काँडा जम्मा भएको माटोको हाँडीलाई शुरूमै त्यहाँ थुपारिएको ‘गोधन’का ढिस्कोमाथि राखेर सबैजना मिलेर कुटेर नष्ट गर्ने चलनलाई नै गोधन कुटाई भनिन्छ,’ उनले भनिन् ।

साइत अनुसार गोधन कुटाइपछि सामूहिक पूजा हुन्छ । अन्तमा गोधनमाथि सबैले आफ्नो आफ्नो दियो बाल्ने गरेका हुन्छन् ।
दियोको धुँवामा सेकेर गाजल बनाउने गरिन्छ,गाजलमा गोवर्द्धन देवको आशीर्वाद समाहित रहेको लोक मान्यता छ ।

 


सम्बन्धित समाचार