Logo

३० कात्तिक,वीरगञ्ज । दीपावली सकिए लगत्तै अहिले मधेश प्रदेशमा छठ मनाउन तयारी भइरहेको छ । तराईको ठूलो पर्व छठ भएको हुनाले यहाँ विशेषरुपमा नै छठ पर्व मनाउने गरिन्छ ।

तिथि अनुसार यही ३ मंसिरमा छठ पर्व परेको छ । अर्थात् आजदेखि ४ दिन मात्रै बाँकी छ छठको । मुखैमा छठ पर्व आइसकेकोले त्यसको तयारीमा अहिले सबै जुटेका छन् ।

छठका लागि पुजन सामग्रीदेखि लिएर नयाँनयाँ कपडा, लत्तासहित आवश्यक सामग्रीको किनमेल सुरु भइसकेको छ भने छठ घाट सजाउने काममा तिव्रता दिइएको छ ।

छठ व्रतालुहरुसहित छठ घाटमा पुग्ने सबैको सहजताको लागि अहिले घाटहरु श्रृङ्गारिदै छ, त्यो पनि एउटा दुलहीलाई श्रृङ्गारिएको भन्दा पनि राम्रो ।

वीरगञ्जमा मुख्य गरी घडिअर्वा पोखरी, नगवा पोखरी, श्रीपुर पोखरी, आदर्शनगर रंगशालाको स्वीमिङ्ग पुल, सरीसवा नदीको घाटसहितका नदी तथा तलाउमा अहिले सरसफाइ तथा सजाउने काम चलिरहेको छ ।

वीरगञ्जमा सबै भन्दा बढी घडिअर्वा पोखरीको छठ घाट सबैको आकर्षणको केन्द्रबिन्दू बन्ने गरेको छ । कारण–अन्य घाटको तुलनामा यो छठ घाटलाई विशेष बनाइन्छ, पूर्णरुपमा श्रृङ्गारिन्छ ।यसकारण यो छठ घाट सबैको रोजाइमा पर्ने गरेको छ ।
जानौं यो छठ घाटको तयारी कहाँसम्म पुगेको छ ।

घडिअर्वा पोखरीको छठ बीरगन्जको मुटुमा पर्छ । त्यसकारण अन्य घाटको तुलनामा यहाँ बढी व्रतालुहरुको आउने गर्छन् ।
छठ व्यवस्थापन समितिका अनुसार यो घाटमा व्रतालुहरु मात्रै दश हजार अट्ने क्षमता छ । व्रतालुबाहेक दर्शनार्थीहरु भने लाखौंमा घुम्न आउँछन् ।

त्यसकारण यो घाटको सजावट र अन्य बन्दोबस्ती पनि त्यहीँ बमोजिम गरिएको समितिले जनाएको छ ।
घडिअर्वा पोखरी छठ घाट तयारीको काम लगभग सकिन लागेको व्यवस्थापन समितिको भनाइ छ । घाट सजावटको काम लगभग ७५ प्रतिशत भइसकेको छठ पुजा व्यवस्थापन समितिका अध्यक्ष दिलिप साह कानुले जनाए ।

उनका अनुसार अहिलेसम्म घाटमा टेन्ट लगाउने काम, रंगरोगनसहितका कामहरु भइसकेको र केही कामहरु भने अन्तिम चरणमा रहेको छ । ४ वटै गेटको सजावट, झालर बत्तीसहित केही प्रतिशत सजावटको काम मात्रै बाँकी रहेको व्यवस्थापन समिति अध्यक्ष कानुको भनाइ छ ।
घडिअर्वा घाटको सजावटमा १६ लाख खर्चिदैँ

घडिअर्वा पोखरी छठको सजावटमा यो वर्ष पनि ठूलै खर्च भइरहेको छ । व्यवस्थापनका अनुसार घडिअर्वा छठ घाटको सजावटमा मात्रै यो वर्ष १६ लाखको हाराहारीमा खर्च भइरहेको छ ।

व्रतालुहरुलाई पर्व मनाउन कुनै किसिमको समस्या नआओस भन्ने हेतुले हरेक पक्षमा उतकृष्ट व्यवस्थापन गरिएको समितिका अध्यक्ष कानुको भनाइ छ ।

१६ वटा सिसिटिभि क्यामेरा जडान
अन्य घाटको तुलनामा घडिअर्वा घाटमा धेरै भीडभाड हुने गरेको छ । यसैलाई मध्यनजर गरेर घडिअर्वा घाटको सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ ।

सबैको सुरक्षाका लागि प्रहरी चेकिङदेखि लिएर सबै गेट र भित्र सिसिटिभि क्यामेरा जडान गरिएको छ । समितिका अनुसार घडिअर्वा पोखरीमा १६ वटा सिसिटिभि क्यामेरा जडान गरिएको छ ।

सबै जनाको निगरानीको लागि हरेक ठाउँमा सिसिटिभि क्यामेरा जडान गरिएको अध्यक्ष कानु बताउँछन् । छठको दिन घडिअर्वाको सबै गेट खुल्ला राखिने आयोजक समितिले जनाएको छ ।

छठको रौनक सुरु

यस वर्ष मङ्सिर ३ गते षष्ठीको दिन विधिपूर्वक साँझको अर्घ दिने भए पनि यसको मुख्य विधि तीन दिन अगावैदेखि निष्ठापूर्वक सुरु हुने गर्छ । अहिले गाउँगाउँ घरघरमा छठ पर्वका गीत गुन्जिने गरेको पाइन्छ ।

छठको पहिलो दिन बर्तालु नहायखाय गरी छठ पर्व आरम्भ गर्छन् । दोस्रो दिन खरना विधि गरिन्छ । खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ ।

खरनाका दिन राति गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर बर्तालु दिनभर उपवास बस्ने गर्छन् । बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै नयाँ भाँडामा सख्खर, दूध र चामलको खीर पकाइन्छ ।

यस्तो खीर केराको पातमा राखेर छठिमातालाई चढाइन्छ र चढाइसकेपछि व्रतालुले प्रसादका रूपमा ग्रहण गर्ने गर्छन् ।
यसलाई परिवारका अन्य सदस्यले पनि प्रसादका रूपमा ग्रहण गर्ने चलन रहेको छ ।

अर्को दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिन बर्तालुले रातभरि जाग्राम बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई फेरि अर्घ्य दिएर व्रत समाप्त हुन्छ ।

पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा भीड लाग्ने गर्दछ ।

 


सम्बन्धित समाचार