Logo

फाइल तस्बिर

३० कात्तिक,सेढवा । छठ पर्व नजिकिएसँगै सिमावर्ती भारतीय बजारहरुमा नेपाली उपभोक्ताहरुको भिड बढेको छ । भने नेपाली बजार सुनसान देखिएको छ ।

पर्साको ग्रामीण क्षेत्रमा रहेका सिमावर्ती भारतीय बजार भेलाही, सिकटा, मैनाटांड, इनरवा, भंगहा तथा जमुनिया लगायतका बजारहरुमा नेपाली उपभोक्ताहरुको भिड बढेको छ ।

तर ग्रामीण बजार सुवर्णपुर, सेढवा, नौकाटोला, सुपौली, सखुवनिया, परसवा, जानकीटोला लगायतका बजारहरुमा भने मानिसहरु किनमेल गर्न खासै नआएको बताइएको छ ।

हप्तामा दुई दिन लाग्ने यी हटहीहरुमा हरियो तरकारीको बिक्री वितरण बढि भएको व्यापारीहरुले बताएका छन् । यस्तै अन्य पसलहरु जस्तै किराना, कपडा, भाडावर्तन पसलहरुमा खासै चहलपहल नभएको जिराभवानी गाँउपालिका वडा नं २ सेढवामा सञ्चालित मातृका किराना पसलका संचालक मातृका महतो थारुले जानकारी दिनुभयो ।

राज्यले खेपिरहेको आर्थिक मन्दीका कारणले आम नागरिकसंग पैसाको अभाव भएकाले पनि खासै पसलमा बिक्रि नभएको थारुको बुझाई छ । यता पर्वकै लागि लत्ताकपडा, भाडावर्तन, पूजाका सामग्री, बासका दउरा, माटाका भाँडा तथा दैनिक उपभोग्य वस्तुहरु खरिद गर्न भारतीय बजारमा जाने नेपाली उपभोक्ताहरुको बाक्लो उपस्थिति देखिएको छ ।

सप्ताहमा दुई दिन हाट लाग्ने यी भारतीय बजारहरुमा दैनिक भिड लाग्ने गरेको छ । भारतीय बजारमा नेपाली बजारको तुलनामा सस्तो दरमा समान पाइने भएकाले किनमेल गर्न उतै जाने गरेको उपभोक्ताहरुले बताएका छन् ।


सम्बन्धित समाचार