Logo

२ मंसिर,जनकपुर ।अहिंसा, सद्भाव र समानताप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराई–मधेश–मिथिलाञ्चलको महान् पर्वको रुपमा छठलाई मानिन्छ ।

तिहार र भ्रातृद्वितिया पर्व सम्पन्न हुनेवित्तिकै यहाँ छठ पर्वका लागि अहिले देखि नै महिलाहरु जुटिसकेका छन् । कार्तिक शुक्ल चतुर्थीको दिनदेखि सुरु हुने छठ पर्व कार्तिक शुक्ल सप्तमी तिथिको दिन सम्पन्न हुन्छ ।

छठ पर्वमा प्राकृतिकसहित सूर्यको अति नै महत्वका साथ सूर्यदेवको उपासना गरिन्छ । हिन्दू धर्ममा सूर्य पूजाको परम्परा वैदिक कालदेखि नै रह्दै आएको मानिन्छ । त्यसले गर्दा समेत यस पर्वको परम्परालाई उक्त रुपले नै देखिन्छ ।

सुख, समृद्धि, गरिब–धनी, निःसन्तान रोगबाट मुक्त तथा छुवाछुत मुक्त समाजका लागि समेत छठ पर्व एक आपसमा भाईचाराका साथ मिलेर मनाइने गरिन्छ ।

मुख्यतः सन्तान प्राप्ती, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई भव्यता प्रदान गर्न जनकपुरधामको ऐतिहासिक गंगा, धनुष, अंगराज, महराज, अग्नीकुण्ड, रत्नसागर, बाल्मीकि सागर लगायतका दर्जनौं पोखरी, तलाउ र सरोवरहरूलाई विभिन्न संघ संस्था र स्थानीय युवा क्लबहरूले सरसफाई गरी बिजुली, पण्डाल लगायतका व्यवस्था मिलाइएको छ ।

यस छठपर्वमा विभिन्न पोखरी, तलाउ तथा सरोवरमा एकैसाथ मिलेर मनाउने गरेकाले समाजमा रहेका विकृति हटाउन सहायक सिद्ध हुने गर्दछ संस्कृतिविद् प्रा.परमेश्वर कापडी बताउँछन् ।

यस छठ पर्व भाकल गरेका महिला र पुरुषहरुले पनि मनाउने गर्दछन् । ब्रतालुहरु रातो, पहेंलो साडी र पुरुषले पहेंलो रंगको धोती लगाउछन् । त्यसैगरी तलाउ तथा जलाशयमा कम्मरसम्मको भाग पानीमा डुबाएर ध्यानपूर्ण मुद्रामा सूर्य तर्फ फर्केर सूर्यलाई प्रणाम गर्दै उभिएका व्रतालुहरु साक्षात देवीकै रूपमा देखिन्छन् ।

ब्रतालुले पूजास्थलमा गएर दूध चढाउँछन् । यसलाई सझुक्का (साँझमा चढाइने अर्घ) अर्घ भनिन्छ ।
निष्ठापूर्वक छठ पर्व मनाउनका लागि नियम निष्ठा सहित पवित्रता, शुद्धता, श्रद्धा, समर्पण तथा सर्तकता अति आवश्यक मानिएको हुन्छ ।

कुनै गल्ती भएमा क्षमायाचनाले काम चल्दैन, कुनै किसिमको पैरवीकोे कुनै अर्थ नै रहदैन । कुनै किसिमको गल्ती गरे भएमा अवश्यरुपमा सजाय भोग्नैपर्ने जनमानसको मानसपाटलमा बसेको छ । तसर्थ छठलाई कठोरत्तम नियमनिष्ठाको सहितको पर्वरुपमा भनिएको छ ।
सांस्कृतिविद्हरुको नजरमा सूर्यलाई यसकारण पनि सूर्यदेव भनिन्छ ।

विभिन्न अध्ययन अन्वेषन र खोजको क्रममा साहित्यकारहरु पनि विश्व सांस्कृतिकरुपमा सूर्यको महत्व र यसलाई कुन देशमा कसरी पूजा गरेर मनाईन्छ । यसको अर्थलाई महत्व दिएको देखिन्छ ।

जस्तै ईजिप्ट अर्थात मिश्रमा एटम् अथवा रे (सूर्यको किरण)को रूपमा सूर्यलाई सम्बोधन गरिन्छ । युनानी परम्परामा सूर्यलाई अपोलोको रूपमा लिइन्छ । रोमका प्राचीन कथामा सूर्य देव (अपोलो) लाई त्रासद प्रेमीको संज्ञा दिइन्छ।

जापानी कथाअनुसार इजानागी तथा इजानामी नामक आदि पुरुष देवता तथा आदि नारी देवताबाट सूर्यको जन्म भएको जनविश्वास छ। क्यानाडामा सूर्यलाई रेयावन भनिन्छ । त्यसैगरी चीनमा सूर्य देवताप्रतिको निष्ठा प्राचीन चित्र र मेक्सिकोमा समेत सूर्यलाई पूजन गर्ने परम्परा छ । तसर्थ पनि सूर्यको महत्वलाई यहाँ नकार्न नमिल्ने सांस्कृतविद् प्रा.परमेश्वर कापडी बताउछन् ।

उनको अनुसार सूर्य पूजामा छठ परमेश्वरीको प्रवेश यस कुरालाई संकेत गर्दछ कि हाम्रा वैदिक अनुष्ठानमा तान्त्रिक अनुष्ठान कसरी मिसिन पुग्छ ।

त्यस्तै साहित्यकार डा. रेवतीरमण लालले अस्ताउँदो सूर्यलाई जुन अर्घ दिइन्छ त्यो छठी परमेश्वरी हुन् र उदाउँदो सूर्यलाई जुन अर्घ दिइन्छ त्यो नै दिनकर दिनानाथ वा सूर्यदेव रहेको बताउछन् ।

छठः षष्ठी र परमेश्वरीको पूजा आरधाणा

छठ पर्वमा मूलतः सूर्य षष्ठी अर्थात् सूर्य एवं षष्ठी दुवैलाई उपासना गरिन्छ । यस पर्वका गीतहरूमा दिनानाथ र छठ परमेश्वरीको महिमाको खुबै बखान गरिन्छ ।

यस सम्बन्धमा सांस्कृतिविद् गोविन्द झाका अनुसार प्रसव पश्चात् केही दिन शिशु माथि प्राण संकट रहन्छ र त्यो निर्विघ्न वित्दैजादाँ छैठौं राति शिशुलाई रक्षा गर्ने एक तान्त्रिक देवीको पूजा गरिन्छ ।

यसै देवीको नाम हो– षष्ठी (छठी) । पण्डित झाका अनुसार पहिलो शिशुलाई रक्षा गर्ने हो भने अर्की बच्चा दिने हुन् । पहिलो षष्ठी राति (छैठौं राति) को दिव्यरूपा हुन् भने अर्की षष्ठी (छठी,जो छठ हुन्) तिथिको दिव्य रूप हो । पहिलो देवीको पूजा नित्य अनिवार्य हो, जसको शिशुको जन्मको छैठौं राति हुन्छ र यसलाई छठियार भनिन्छ । तर अर्कीको पूजा काम्य (अतिरिक्त) हो । यसलाई भाकल गरेपछि मात्रै छठ पर्व मनाउने हुन् ।

सूर्य पूजामा छठ परमेश्वरीको प्रवेश यस कुरालाई संकेत गर्दछ । हाम्रा वैदिक अनुष्ठानमा तान्त्रिक अनुष्ठान कसरी मिसिन पुग्छ। सूर्य विशुद्ध वैदिक देवता हुन् भने छठी शुद्ध तान्त्रिक।

आखिर जे भए पनि पण्डित झा छठ सबैभन्दा पुरानो पर्व रहेको दाबी गर्छन्। साहित्यकार डा. रेवतीरमण लालका अनुसार अस्ताउँदो सूर्यलाई जुन अर्घ दिइन्छ त्यो छठी परमेश्वरी हुन् र उदाउँदो सूर्यलाई जुन अर्घ दिइन्छ त्यो नै दिनकर दिनानाथ वा सूर्यदेव हुन्। मैथिलीका इतिहासकार डा. प्रफुल्लकुमार सिंह एउटा लोक धारणा उद्धृत गर्दै भन्छन्, ‘आदित्य मल्ल सूर्य तथा छठ परमेश्वरीको सम्बन्ध भाइबहिनीको हो ।’

आमधारणा अनुसार लोक मातृका षष्ठीको पहिलो पूजा सूर्यले गरेका थिए । यता कोशीले आफ्नो बहिनी कौशिकीको, भैरवले कालीको, कोइलाले कमलाको तथा गोरइयाले वाक्देवी बन्नीको पूजा गरेका थिए ।

सूर्यले छठी माताको पूजा गरेको थियो । कतिपय सांस्कृतिकविदका अनुसार उषा छठ नै परमेश्वरी हुन् । यता परमेश्वरी र षष्ठीको बारेमा अहिलेपनि अन्योल कायम देखिन्छ । सांस्कृतविद प्रा.डा.राजेन्द्र विमलका अनुसार छठ परमेश्वरी को हुन् र सूर्यसँग यिनको के सम्बन्ध छ भन्ने विषयमा अस्पष्ट नै छ ।

यसरी मनाइदै छठ 

यस पर्वमा सप्तमी युक्त षष्ठी तिथिमा व्रत गर्ने परम्परा रहेको छ । सूर्य देवतालाई पहिलो दिनको ‘सझुँका अर्घ’ (अर्घ) सोहि दिन नै अर्पण गरिन्छ । सूर्य देवतालाई अर्घ दिइने गरिन्छ ।

त्यसै अनुरुप उदयकालमा दिइने अर्घका लागि समेत त्यही विधि अपनाइन्छ र उक्त दिन पनि सप्तमी तिथि नै रहेको बेला ‘भोरका अर्घ’ दिइन्छ । छठ पूजामा साँझको समयमा सूर्य देवतालाई प्रसादको रुपमा अर्घ अर्पण गरिन्छ उक्त प्रसाद नै पुनः बिहानको समयमा अर्थात् ‘भोरका अर्घ’ मा दिइने गरिन्छ ।

सूर्य देवतालाई अर्पण गरिएका प्रसाद साँझदेखि बिहानसम्म दुल्ही झैँ सिंगारिएका जलाशयमा बनाइएको घाटमा नै राखिन्छ ।
छठ व्रत गर्नेहरु सबैजना चौठी तिथिका दिन नुहाइ धुवाई गरी चोखो भई अर्वाअर्वाइन खाने गर्दछन् ।

यही तिथिका दिनदेखि छठ पर्व औपचारिक रुपमा प्रारम्भ भएको मानिन्छ । यस दिन व्रत गर्ने महिला र पुरुष नुहाइ धुवाई शुद्ध भएर वस्त्र लगाई शाकाहारी भोजन खाने गर्छन् ।

कात्तिक शुक्ल पञ्चमी तिथिको दिनभरी पर्व गर्नेले उपवास बस्छन् । उक्त दिन साँझमा माटोले बनाइएको नयाँ चुल्होमा नयाँ माटोको भाडामा अरबा चामलमा सख्खरको खीर बनाउने गर्दछन् ।

खरनाको दिन सख्खर राखेर बनाइएको खीर देवी देवतालाई प्रसादको रुपमा चढाइन्छ र प्रसाद स्वरुप खीर व्रतालुका साथै घरका अन्य सदस्यले पनि ग्रहण गर्दछन् ।

कार्तिक शुक्ल षष्ठी तिथिका दिन व्रत गर्ने महिला डुब्दै गरेको सूर्यलाई अर्घ दिने गर्दछन् भने जुन पुरुषले व्रत गर्ने गर्दछन् । पुरुष व्रत गर्नेले सूर्य देवतालाई अर्घ अर्पण गर्ने समयसम्म पोखरी, ताल तलैयामा सूर्य देवतालाई हातमा नरिवल वा अन्य कुनै फलफुल लिइ उभिरहन्छन् ।

साँझको समयमा घण्टौसम्म जलमा उभेर नाङ्लो, कनसुप्ती, ढकना, सरबा लगायतकामा राखिएका प्रसाद लिएर डुब्दै गरेको सूर्यलाई अर्घ चढाउने गरिन्छ ।

छठ व्रत गर्नेको घरका सबै सदस्य प्रायः रातभर सरोबरको घाटमा जाग्राम बस्ने गर्दछन् । छठको प्रसादमा ठकुवा, भुसवा, केरा, नरिवल, उखु, सुन्तला, कागती, सिंग्हारा(पानीमा फल्ने फल), पान, सुपारी, धूप, दीप, अरतक पात, चना र अगरवत्ती आदि रहन्छन् ।

पर्वको दिन व्रतालुलाई मन्त्रोच्चरण गरी संकल्प लिने गर्दछन् । रातो फूल, दुबो अक्षता र प्रसादका लागि तयार पारिएका परिकारसहित जल लिएर सूर्य्तितर हेर्दै ‘नमोस्तु सुर्याय नमः’ उच्चारण गरी सम्पूर्ण डाला उत्सर्ग गर्दै कथा सुन्ने गरिन्छ ।

त्यसपछि पारण दिन व्रत गर्ने महिला पुरुष सबै जना घर फर्किन्छ र भोजन गर्दछन् । पारण भएपछि ४ दिवसीय छठ पर्वको समापन हुन्छ ।
षष्ठी देवी कात्तिक शुक्ल षष्ठी तिथिका दिन डुब्दै गरेको सूर्यका साथ साथै षष्ठी देवीको पनि पूजा गरिन्छ ।

पुराणका अनुसार प्रकृति देवीको एक प्रधान अंशलाई देवसेना भनिन्छ । जसलाई सबैभन्दा श्रेष्ठ मातृका मानिन्छ । माता सृष्टिको सम्पूर्ण जीवको रक्षिका देवी हुन् ।

प्रकृतिको छैठौँ अंश भएका कारण उनको नाम समेत षष्ठी रहेको छ । षष्ठी देवीको पूजनको प्रचार प्रसार ब्रह्मवैवर्त पुराणका अनुसार राजा प्रियव्रतकको कालदेखि आरम्भ भएको मानिन्छ । यस कारण ‘छठि माता’ भन्ने परम्परा छ ।

छठको पौराणिक महत्व लंका विजयपछि रामराज्यको स्थापनाका दिन कार्तिक शुक्ल षष्ठी तिथिका दिन भगवान राम र माता सीता उपवास बस्दै सूर्यदेवको आराधना गरेका थिए ।

उनीहरुले सप्तमी तिथिका दिन सूर्योदयको समय अनुष्ठान गरी सूर्यदेवबाट आशिर्वाद प्राप्त गरे । एक किसिमले छठ पर्वको आरम्भ यसै दिनदेखि भएको मानिन्छ । ऊर्जाको सबैभन्दा ठूलो स्रोत सूर्यलाई मानिन्छ ।

यसैकारणले गर्दा हिन्दू शास्त्रमा सूर्यलाई प्रत्यक्ष देवताको रुपमा मानिएको छ । एक अर्को मान्यताका अनुसार छठ पर्व महाभारत कालदेखि सुरु भएको हो । छठ पूजाको सुरुवात सूर्य पुत्र कर्णले गरेको मानिन्छ ।

कर्ण भगवान सूर्यको परम भक्त थिए । उनी हरेक दिन जलमा उभी सूर्यलाई अर्घ दिने गर्दथे । सूर्यको कृपाले उनी महान् योद्धा बन्न सफल भए । महाभारतमा सूर्य पूजाको अर्को वर्णन समेत पाइन्छ ।

पाण्डव पत्नी द्रौपदी आफ्नो परिवारजनको उत्तम स्वास्थ्यको कामना र दीर्घायुका लागि नियमित सूर्य पूजा गर्ने गर्थिन् । छठ पर्वको कथा कथाका अनुसार राजा प्रियवद निसन्तानी थिए ।

त्यस समय महर्षि कश्यप पुत्रेष्टि यज्ञ गराएर उनकी पत्नी मालिनीलाई यज्ञाहुतिका लागि बनाइएको खीर खानका लागि दिए । यसको प्रभावले उनलाई सन्तानको रुपमा छोरा प्राप्त भयो तर उक्त छोरा पनि मृत नै जन्मिए ।

प्रियवद पुत्रलाई लिएर श्मशान गए र आ पुत्र वियोगमा प्राण त्याग्न लागे । ठिक त्यही समय मानस कन्या देवसेना प्रकट भइन् र भनिन् सृष्टिको मूल प्रवृत्तिको छैठौँ अंशबाट उत्पन्न भएका कारण मेरो नाम षष्ठी परेको छ । ‘हे राजन् तपाई मेरो पूजा गर्नुस् तथा अन्य व्यक्तिलाई समेत यसका लागि प्रेरित गर्नुस् ।’

राजा पुत्र इच्छाले देवी षष्ठीको व्रत गरे र उनलाई पुनः पुत्र प्राप्ति भयो । उनले गरेको यो पूजा कार्तिक शुक्ल षष्ठी तिथिको दिन भएको थियो । यस प्रकार कार्तिक शुक्ल षष्ठी तिथिको दिन अर्थात् छठि मैयाको पूजा गर्ने परम्परा बन्यो ।

छठ पर्वको वैज्ञानिक महत्व छठ पर्वको परम्परा वैज्ञानिक र ज्योतिषीय दृष्टिले समेत महत्वपूर्ण रहेको पाइएको छ । षष्ठी तिथि एक विशेष खगोलीय अवसरको रुपमा रहेको छ जुन समयमा पृथ्वीको दक्षिणी गोलार्धमा सूर्य रहन्छ र दक्षिणायनक सूर्यको अल्टुभोइलेट किरण पृथ्वीमा सामान्यभन्दा बढी मात्रामा एकत्रित हुन्छ ।

किनभने यस समयमा सूर्य आफ्नो तलको राशि तुलामा रहेको हुन्छ । जसकारण दूषित प्रकाशको सीधा प्रभाव जीवको आँखा, पेट र छाला आदिमा पर्ने गर्दछ । सूर्यको प्रकाशलाई परावैजनी प्रकाशबाट जीवको हानी नोक्सानी नहोस् भन्ने अभिप्रायका साथ सूर्य पूजाको रहस्य लुकिएको विज्ञानका जानकारको भनाइ रहेको छ ।

सामाजिक सांस्कृतिक महत्व छठ पूजाको सबैभन्दा महत्वपूर्ण कुरा यसको पवित्रता र लोकपक्ष रहेको छ ।
यो पर्वले समाजमा सबैको महत्व आ–आफ्नो स्थान उत्तिकै छ भन्ने कुराको आभाष समेत गराउँदछ ।

जसरी माटोका सामग्रीका लागि कुम्हाले, बाँसको सामग्रीका लागि डोम समुदाय, पूजाअर्चनाका लागि ब्राह्मण पुरोहितीनी, सख्खर, चामलका लागि किसान र व्यापारी लगायत, पूजाका प्रसाद बनाउनका लागि महिला, घाटमा लैजानका लागि पुरुष र जसरी कुनै दिनदुखी बिना चप्पल जुत्ता हिड्ने गर्छन ।

त्यसैगरी छठको विशेषता सहितको मैथिली लोक गीत संगीतले जीवनलाई सार्थक बनाउन र पवित्र पर्वका लागि अझ बढी निष्ठावान् बनाउन सहयोग गर्दछ । छठको सन्देश छठ पर्वमा उत्पादन, सीप र संस्कारको समिश्रण पाइन्छ ।

उदाहरणका लागि हस्तनिर्मित बाँसको नाङ्लो, कनसुप्ती, माटोद्वारा निर्मित सामग्रीहरु, ढकना, सरबा, दियो, हाथी आदि–इत्यादि सामग्रीहरुको प्रयोग हुन्छ ।

यस पर्वमा जमिनमा उब्जिएका तरकारी, उखु, केरासहित फलफुल, अन्नवालीबाट फलेका गहुँको पिठो, धानको चामललगायतबाट बनाइएका विभिन्न परिकारका ठकुवा, भुसुवालगायत प्रसादहरु लिएर जलासयमा आफुलाई समेत सूर्यास्तमा सबैथोक समर्पण गर्दै भररात जाग्राम बसेर उदाउदो सूर्यलाई आरधना गरेपश्चात प्राकृतिकसहित जल, जमिन र सूर्यको पूजा गरि मानव जिवनको आरम्भ भएको मानिन्छ ।


सम्बन्धित समाचार