Logo

२ मंसिर,जनकपुर । मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको तयारी व्यापकरुपमा हुँदै छ । दीपावली सकिएलगत्तै तराई–मधेसमा छठ पूजाका सामग्री किनमेलमा व्यस्त छन् । भने जनकपुरधामसहितका स्थलहरुमा रहेका विभिन्न तलातलैयाहरुलाई दुलही झैँ सजाइँदैछ ।

अहिले जनकपुरधामसहित सम्पूर्ण तराई–मधेसका मुख्य बजारहरुमा किनमेलका लागि निकै चहलपहल समेत बढेको छ । छठ पर्वमा माटोले बनाइको घैँटो, हात्ती त्यस्तै बाँसबाट बनेको छिट्टी (टोकरी), नाङ्लो, कन्सुपति लगायतको सामग्री प्रयोग हुन्छ ।

छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, नरिवल, उखु, हरियो बोडी, पानी सिंगडा, मुला, अदुवाको बोट पर्छन् । यो समय माटो तथा बाँसका सामग्रीसमेत खरिद गरिन्छ ।

छठपर्व मनाउनका लागि विभिन्न तालतलैया तथा पोखरीको डिल र नदीतटको समेत सरसफाइ गर्दै आ–आफ्ना लागि पूजास्थल सुरक्षित बनाउनमा श्रद्धालु भक्तजनहरु व्यस्त छन् । घाट निर्माणमा लाखौँ रुपैयाँ खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका कामहरु धमाधम भइरहेको छ ।

जनकपुरधामको गंगासागर, धनुषसागर, दशरथ सागर, अंगराजसर सागर, अग्निकुण्ड, भुतहीलगायतका तलाउजस्ता विभिन्न स्थानमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष साजसज्जा गरिदैँछ । स्थानीय युवा क्लब र समितिको अग्रसरतामा जनकपुरधामका विभिन्न तलाउ, पोखरी तथा सरोबरलाई सिंगार्नमा व्यस्त देखिएका छन् ।

छठ पूजाका लागि जनकपुरधामका व्रतालुहरू सूर्यास्तलाई अघ्र्य दिइ राति पूजा स्थालमै बस्ने गर्छन् भने त्यसको भोलिपल्ट बिहानै घाटमा उदाउँदो सूर्यलाई अघ्र्य दिने गरिन्छ । विशेषगरी, भाकल गरेकाले यो पर्व मनाउने गर्छन् ।

छठ पर्व मनाउँदा चर्मरोग निको हुने, पुत्र लाभ हुने, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने धार्मिक विश्वास छ ।
छठ पर्वमा बाँसको ढाकी, डगरी, माटोको कोसिया कुरबार, हाती लगायतको सामग्रीहरु चढाइन्छ भने प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफुल सूर्यदेव अर्थात दिनानाथलाई चढाइने गरिन्छ । अघ्र्य दिने ब्रतालु ४८ घण्टासम्म पानी पनि नखाई निराहार उपवास बस्ने गर्छन् ।

छठ पर्वमा सूर्य भगवानलाई अघ्र्य दिनका लागि तयार गरिने विभिन्न परिकारहरु नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्व पनि भनिन्छ ।


सम्बन्धित समाचार