Logo

२ मंसिर,ठोरी । पर्यटकीय सम्भावना बोकेको पर्साको ठोरीको गोलेडाँडा संरक्षण अभावमा कुरुप बन्दै गएको छ ।

साविकको ठोरी गाविसको अवलोकन गर्न सकिने मनमोहक सो क्षेत्रमा फोहोर थुप्रिएका छन् भने झाडी पलाएर कुरुप भएको छ । ठोरी गापा–२ को वडा कार्यालयबाट करीब १ किलोमिटर दक्षिणतर्फको उकालो चढेपछि पुग्न सकिने गोलेडाँडाबाट ठोरीको सिता गुफा, सेतो पहाड लगायत विभिन्न स्थानहरु देख्न सकिन्छ ।

चार पाङ्ग्रे सवारी साधन समेत सहजै पुग्न सक्ने गरी स्थानीय सरकारले कच्ची बाटो निर्माण गरेको छ । बाटोको सुविधाकै कारण दैनिक उल्लेख्य सङ्ख्यामा भारतीय र नेपाली पर्यटकहरु घुमफिर गर्न गोलेडाँडा पुग्ने गरेका छन् । पर्यटकीय चहलपहलका कारण सो क्षेत्रमा फोहोर थु्प्रिएका छन् ।

तर सरसफाइमा कसैको ध्यान पुग्न नसकेको नाम नबताउने शर्तमा स्थानीय एक महिलाले बताउनुभयो । आफुहरुले एक दुई पटक आफ्नै प्रयासमा सरसफाइ गरेको भएपनि अरु कसैले चासो नदिएको उहाँको भनाई छ ।

पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको अर्धकदको शालिक सहितको मनमोहन स्मृति पार्क समेत सो क्षेत्रमा छ । तर झाडीले पुरिएर पार्कको हालत कुरुप बन्दा समेत कसैको ध्यान पुगेको छैन् ।

जथाभावी फोहोर फालिएका छन् भने सो पार्कभित्रका कंक्रिट बेन्चहरु झाडीले ढपक्कै ढाकिएका छन् । नव आगन्तुक पर्यटकहरुका लागि पार्क र झाडी पहिचान गर्न नै कठिन छ । यस्तै गोलेडाँडामा नै रहेको भ्यु टावरको अवस्था जिर्ण छ ।

टावरको माथिल्लो भागमा रेलिङ नै छैन्, जसका कारण दुर्घटनाको जोखिम उत्तिकै छ भने टावर माथि पुग्न पनि सहज छैन । अव्यवस्थित ढङ्गले निर्माण गरिएका भर्याङले दुर्घटना निम्त्याउन सक्ने किसिमको छ । रातो माटो पाईने क्षेत्र भएकाले पछिल्लो समय सो क्षेत्रमा माटो खनेर खाडल समेत बनाइएको छ ।

 


सम्बन्धित समाचार