Logo

२ मंसिर,बारा । आन्तरिक राजश्व कार्यालय बारा सिमराले कर सप्ताह सुरु गरेको छ । पहिलो दिन कर सप्ताह उद्घाटन तथा प्रभातफेरी कार्यक्रम गरेको छ ।

कार्यक्रमको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पौडेलले करदातालाई सम्मान गर्ने बानिको बिकास गर्नेमा जोड दिनुभयो ।

उहाँले सरकारी र निजी कार्यालय एक आपसमा सहकार्य गरेर अघि बढ्न सल्लाह दिनुभयो । करलाई कर गरेर तिर्नुभन्दा स्वफुर्त रुपमा तिर्नुपर्ने आवश्यक्ता औल्याउँनुभयो ।

त्यस्तै बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले राज्य आर्थिक मन्दीको सामना गरिरहेका कारण समयमै कर तथा राजश्व तिरेर सरकारलाई आर्थिक रुपले मजबुत बनाउँनुपर्ने अनुरोध गर्नुभयो ।

उहाँले राज्यसँग तलब खुवाउँने पैसा अहिलेको समयमा नरहेका कारण राजश्व कडाईको साथ उठाउँनुपर्ने निर्देशन सरकारबाट भएको जानकारी दिनुभयो ।स्थानीय प्रशासनको तर्फबाट उद्योगी तथा ब्यवसायीहरुलाई गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताउँनुभयो ।

त्यस्तै आन्तरिक राजश्व कार्यालय बाराका सिमराका प्रमुख राजकुमार खतिवडाले करदातालाई चुस्दुरुस्त रुपमा सेवा प्रदान गरी करमैत्री बताबरण बनाउँन आफुहरु लागि परेको बताउँनुभयो ।

बजार अनुगमन ब्यपारीलाई दुख दिने नियतले नभई कर शिक्षा तथा सिकाईकोलागि भएको तर्क गर्नुभयो । कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने , बारा जिल्ला च्याम्बर अफ कम्र्सका अध्यक्ष रुपेश पोख्रेल , नगर उद्योग बाणिज्य संघका महासचिव प्रकाश गिरी ,कोषाध्यक्ष रामबाबु कलवार ,सशस्त्र प्रहरी उपरिक्षक टोप बहादुर डाँगी लगायतको उपस्थित रहेको थियो ।

उत्कृष्ट करदाता उद्योग तर्फ रुङ्गटा प्रोसेसिङ ईण्डष्ट्रिज ,पशुपती कत्था मिल्स ,ब्यपारतर्फ रोहित स्टोर , बित्तिय संस्थातर्फ हात्तेमालो बचत तथा ऋण सहकारी संस्था ,शैक्षिक संस्थातर्फ ईन्टरनेश्नल बाल एकेडमी र ब्यपारतर्फ श्रीष कोल्ड स्टोर रहेका छन् । त्यस्तै उत्कृष्ट कर्मचारीतर्फ रणेश्वर कणर्लाई सम्मान गरिएको आन्तरिक राजश्व कार्यालय सिमराले जनाएको छ ।

 


सम्बन्धित समाचार