Logo

३ मंसिर,वीरगञ्ज । छठको मुख्य दिन आज सूर्य भगवान पूजा आराधना गरी छठ पर्व मनाइँदैछ । तराइ मधेशमा विशेष गरी मनाइने छठ पवलाई मध्यनजर गरी यसको सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी नराख्न पर्सा प्रहरीले विशेष रणनीति नै बनाएको छ ।

शान्तिपूर्णरुपमा छठ पर्व मनाउँनका लागि प्रहरीले गरेको सुरक्षा विश्लेषणको आधारमा ‘मिसन छठ’ भनेर प्रहरीले विशेष रणनीति अवलम्बन गरेको पर्सा प्रहरी बताउँछ ।

महानगरसहित जिल्लाभरका छठघाट सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी अन्य गस्तीका टोली परिचालन गरिएको पर्सा प्रहरी प्रमुख कोमल शाहले बताए ।

उनका अनुसार जिल्लाका करिब ३ सयको हाराहारीमा रहेका छठघाटका सुरक्षा निम्ति नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी हजार भन्दा बढी प्रहरी खटाइएको छ ।

छठ घाट कति ?
महानगरको विभिन्न ठाउँदेखि हरेक गाउँगाउँमा छठघाट छन् । पर्सा प्रहरीले गरेको सूचना संकलन अनुसार महानगरमा मात्रै ७२ वटा छठघाट छन् ।

योबाहेक गाउँगाउँमा पनि उत्तिकै छठघाट छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सदरमुकामबाहेम गाउँगाउँमा १८५ वटा मुख्य छठघाट रहेको पाइएको छ ।

जिल्लाभरमा मुख्यमुख्य गरी २५७ वटा छठघाट रहेको पर्सा प्रहरीको आँकडा छ । योबाहेक केही सानासाना ठाउँमा पनि छठघाट रहेको पाइएको पर्सा प्रहरीको आँकडा छ । यी सबै गरेर करिब ३ सयको हाराहारीमा रहेको छठघाटमा आज छठपर्व मनाइँदैछ ।

कति प्रहरी परिचालन ?

जिल्ला नै छठमय भएको छ । हिन्दू धर्मावलम्बीसंगै अन्य समुदायका व्यक्तिले पनि छठको खुसीयाली साटासाट गरिरहेका छन् ।
यसरी सबै समुदाय नै छठपर्व मनाउन सहभागिता जनाउँने भएपछि सुरक्षा चुनौती हुने प्रहरी विश्लेषण छ ।

यही विश्लेषणको आधारमा प्रशासनले सबैका सुरक्षाका लागि व्यापक संख्यामा प्रहरी परिचलान गरेको जनाएको छ ।
जिल्लाका करिब ३ सयको संख्यामा रहेको छठघाटको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी १२ सय भन्दा बढीको संख्यामा सुरक्षाकर्मी खटाइएको छ ।

छठघाटको सुरक्षाका लागि पर्सा प्रहरीबाट एसपीको कमाण्डमा ७०० भन्दा बढी प्रहरी परिचालन गरिएको जिल्लाका प्रहरी कमाण्डर शाहको भनाइ छ ।

यसैगरी नेपाल प्रहरीलाई सहयोग गर्नुको साथै घाटको निगरानीका लागि सशसत्र प्रहरीबाट ५०० जना खटाइएको सशस्त्र प्रहरी बल पर्साका प्रवक्ता संगम श्रेष्ठ बताउँछन् ।

विशेष निगरानीको जिम्मा
जिल्लाभरका छठघाटमा परिचालित सुरक्षाकर्मीलाई विशेष निर्देशन दिइएको छ । दुई दिन मनाइने छठपर्वमा खटिने प्रहरीलाई छठघाट र व्रतालुको सुरक्षा गर्न र शंकास्पद गतिविधि गर्नेहरुको निगरानी गर्न मात्रै जिम्मेवारी दिइएको छ ।

पर्सा प्रहरी प्रमुख शाह भन्छन्,‘छठपर्वलाई लक्षित गरी यो दुई दिन प्रहरीलाई अन्य काममा खटाइएको छैन, सबैलाई छठघाटको र व्रतालुहरुको सुरक्षाका लागि परिचालन गरिएको छ । यो अवधिमा सबै धार्मिकस्थललाई विशेष निगरानीमा राख्न कडा निर्देशन नै दिइएको छ ।’
उनका अनुसार सबै घाटमा छुटाछुट्टै काममा प्रहरी खटाइएको छ । उनी भन्छन्,‘कसैलाई निगरानीको जिम्मा दिइएको छ, कसैलाई भने सुरक्षा व्यवस्था प्रदान गर्न भनिएको छ ।’

शान्तिपूर्ण वातावरणमा छठ पर्व मनाउँनका लागि प्रहरीले सबै रणनीति अवलम्बन गरेको पर्सा प्रहरीको भनाइ छ ।
सबै छठघाटको सुरक्षाका लागि यो वर्ष २४ घण्टा नै प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बताउँछ ।

के हो छठ ?
आज बेलुका अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ । र, भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिपूर्वक समापन हुन्छ ।

वर्तालुले आज रातभर जाग्रम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । आज सप्तमी तिथि भए पनि भोलि बिहान उदाउँदो सूर्यको पूजा आराधनासहित अर्घ्य दिएर छठ पर्व समापन हुने संस्कृतिविद्हरु बताउँछन् ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व मनाउने गरिन्छ । यो परम्पराअनुसार अस्ति चतुर्थीदेखि छठपर्व शुरु भएको हो । यसपालि तिथिको घटबढका कारण हिजो पञ्चमी र षष्ठी तथा आज षष्ठी र सप्तमी तिथि परेको छ । तिथि घटबढ भए पनि यसवर्ष पनि पहिलेजस्तै चार दिन नै छठ पर्व मनाइने भएको हो।


सम्बन्धित समाचार