Logo

३ मंसिर,वीरगञ्ज । हिन्दू धर्मावलम्बी महान छठ पर्व आज देशभरि नै मनाइदै छ । तराइ मधेशमा खासगरी यो पर्व धुमधामका साथ मनाइदै छ ।

तराइ मेधशको जनकपुर र वीरगञ्जमा अझ यो पर्व उल्लासका साथ मनाइन्छ । बीरगन्जमा भने छठ पर्वका लागि छठघाट व्यवस्थापन समिति नै बनाएर यो पर्वलाई उत्सवमय बनाइनछ ।

खासगरी बीरगन्जका छठघाटमा हुने व्यवस्थापनले देशभरि नै चर्चा बटुलिरहेको पाइन्छ । त्यसमा पनि जिल्लाका छठघाटहरुमध्ये घडिअर्वा पोखरीको घाटको अझ बढी चर्चा हुने गरेको छ ।

कारण –अन्य घाट भन्दा यो घाट जिल्लाकै मुख्य घाटको रुपमा श्रृङ्गारिएको हुन्छ । यो घाटमा छठ पर्वको लागि १५ लाख भन्दा बढी खर्चिएको पाइन्छ । त्यो पनि केवल सजावट र व्यवस्थापनमा ।

जसकारण यो घाट जिल्लाकै आकर्षणको केन्द्रबिन्दू बन्ने गरेको छ ।
यहीकारणलाई मध्यनजर गरी प्रशासनले पनि घडिअर्वा पोखरी छठघाटलाई विशेष प्राथमिकतामा राखेको देखिन्छ, जसका कारण अन्य घाटको तुलनामा घडिअर्वा पोखरीको घाटमा विशेष सुरक्षाकर्मी परिचलान गरिएको हुन्छ ।

यो वर्ष पनि घडिअर्वा पोखरी घाट पर्सा प्रहरीको विशेष प्राथमिकतामा परेको छ । त्यहीकारण यो घाटमा डिएसपी ध्रुव श्रेष्ठको नेतृत्वमा कमाण्ड पोष्ट खडा गरिएको छ । जसबाट घडिअर्वासहित अन्य घाटको पनि सुरक्षा निगरानी गरिन्छ ।

घडिअर्वा छठघाटमा सुरक्षाकर्मी परिचालनसंगै यो वर्ष प्रविधिबाट पनि सूक्ष्म निगरानी गर्ने भएको छ । पर्सा प्रहरीका अनुसार भौतिकरुपमा सुरक्षाकर्मीको परिचालन भएसंगै प्रविधिबाट पनि निगरानी गर्न लागिएको हो ।

प्रहरीले घडिअर्वा पोखरीसहित अन्य मुख्यघाटमा पनि यो वर्ष ‘ड्रोन’ बाट सूक्ष्म निगरानी गर्ने तयारी गरेको पर्सा प्रहरी प्रमुख कोमल शाहले जनाए ।

उनका अनुसार प्रहरीले महानगरका केही ठाउँलाई मुख्य प्राथमिकतामा राखेको छ, जहाँ ड्रोनबाट निगरानी गरिन्छ ।
प्रहरीले महानगरको घडिअर्वा घाटबाहेक नगवा, मुर्ली, रानीघाट,रामगाढवा घाटलाई विशेष घाटको सूचीमा राखेको छ । योबाहेक जिल्लाभर २५७ वटा छठघाट छन् ।


सम्बन्धित समाचार