Logo

५ मंसिर,वीरगञ्ज । महोत्तरीसहित मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदैछ । कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार यो पर्व आज मनाउन लागिएको हो ।

मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व सामूहिक भोजन गरिने रमाइलो चाडबाडमा गनिन्छ । कात्तिक शुक्ल नवमीका दिन अमला (धातृ)को रुखको फेदमा खाना खाने मैथिल परम्परा छ । युवाहरु बिहानैदेखि सामूहिक भोजनको तयारीमा जुटेका छन् ।

यो पर्वमा घर नजिकै, बगैँचा वा वन क्षेत्रमै रहेको अमलाको रूखका फेदमा खानेकुरा पकाएर त्यहीँ खाने चलन छ । अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी)सहित साकाहारी खानेकुरा मात्र पकाउने र खाने परम्परा छ ।

विज्ञ अनुसार यो पर्व चिसो बढ्दै जाने क्रममा खानेकुरामा अमलाको प्रयोग बढाउन सन्देश दिन्छ ।

पर्वमा खासगरी किशोर र युवा वनभोजको चाँजोपाँजो मिलाउन व्यस्त देखिएका छन् । सांस्कृतिक पर्वमा किशोर र युवाको सहभागिता बढ्नु सकारात्मक भएको पाका मैथिलको प्रतिक्रिया छ ।

कात्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान विष्णु अमलाका रुखमा बस्ने हिन्दु मैथिल जनविश्वास छ । अक्षय नवमीका दिन भगवान विष्णुको आराधनाले इच्छित कामना पूरा हुने र सन्तान सुख प्राप्त हुने हिन्दु मैथिल मान्यता छ ।

इच्छित कामना पूरा हुने भएकाले यस पर्वलाई इच्छा नवमी र अमला (धातृ) को प्रयोगमा जोड दिइने परम्पराले धातृ नवमीसमेत भन्ने गरिएको छ । अमला स्वस्थ खानाको वस्तु भएकाले यो पर्व स्वास्थ्य सचेतनाकै लागि पूर्वजले सुरु गरेको मैथिल युवा बताउँछन् ।


सम्बन्धित समाचार