Logo

फाइल तस्वीर

६ मंसिर,सेढवा । पर्साको ग्रामीण भेगमा जग्गाको मूल्य वृद्धि हुनुको साथै खरिद बिक्रीको कारोबार पनि बढेको छ । विशेष गरी गण्डक नहरभन्दा उतरतर्फ रहेका थारुवान क्षेत्रमा जग्गाको खरिद बिक्रीको कारोबार बढेको हो ।

यस क्षेत्रमा हुलाकी सडकको निर्माण कार्य सम्पन्न भइसकेको र जनता सडक तथा थरुहठ सडकको निर्माण कार्य भईरहेको र यातायातको सुविधा तथा बिजुली बत्ती व्यवस्थापन भईसकेकाले जग्गाको मूल्य बढेको हो ।

पटेर्वासुगौली गाउँपालिका वडा नं ३ रामपुर निवासी सेवा निवृत्त शिक्षक महेन्द्र चौधरीले विभिन्न व्यवसाय सञ्चालनका लागि जग्गाको खरिद बिक्री बढेको बताए । उद्योग, कलकारखाना, गाईपालन, भैसीपालन तथा कुखुरा फार्म लगायतका व्यवसाय संचालन गर्ने उद्देश्यले ठूलो क्षेत्रफलको जग्गाको माग बढेको उनको भनाइ छ ।

खोलाका छेउछाउको जग्गा पनि राम्रो मूल्यमा बिक्री हुन थालेको उनले जनाए ।
त्यस्तै पर्सागढी नगरपालिका वडा नं. ३ बिरवाका शिक्षक योगेन्द्र चौधरीले यस क्षेत्रमा जनता सडकमा मोहडा भएको जग्गाको मूल्य आकासिएको बताए । बजारमा हालै साढे पाँच लाख प्रतिधुरको दरमा जग्गा बिक्री भएको शिक्षक चौधरीले जनाए ।

अहिले यहाँ तीन वडा घडेरीको प्लटिङ्ग समेत भइसकेको र सो क्षेत्रमा कम्तीमा एक लाख असी हजार प्रतिधुरको दरमा जग्गाको कारोबार भइरहेको उनले बताए । यसका अलावा धानखेतीको जग्गाको दाम पनि बढेको चौधरीको जिकिर छ ।

यता पर्सा राष्ट्रिय निकुञ्जका कारण पर्यटन बिकासको संभावना बढि भएका कारण जिराभवानी तथा ठोरी गाउपालिकाको जग्गाको माग बढेका जीराभवानी गाउँपालिका वडा नं १ शान्तिनगरका रविमोहन सापकोटाले जनाएका छन् । निकुञ्जको जंगलको सिमासंग जोडेका अधिकांश ठाउँमा होटेल, लज, रेस्टुरेन्ट संचालन गर्ने उद्देश्यले जग्गा खरिद गर्ने गरेको सापकोटाले बताए ।

यसका साथै हुलाकी सडकसंग जोडिएका जग्गा अहिले बिस लाख रुपैयाप्रति कठ्ठाको दरमा खरिद बिक्री भइरहेका छन् । सो क्षेत्रमा दैनिक करिब आधा दर्जन व्यापारी जग्गा हेर्न आउने गरेका छन् ।

ठोरी वडा नं. ४ बिजयबस्तीका राजनीतिकर्मी सन्तोष श्रेष्ठले जग्गाको दाम संतोषजनक रुपमा बृद्धि नभएको गुनासो गरे । पाँच बर्ष अगाडी वृद्धिको भएको मूल्य हालसम्म सोही मूल्यमा कायम रहेको बताए ।

श्रेष्ठका अनुसार सर्वोच्च अदालतले चितवन राष्ट्रिय निकुञ्जको जंगलमा भौतिक संरचना निर्माण गर्न नपाउने आदेश जारी गरेपछि जग्गाको मूल्य नबढेको हो । तर अहिले जग्गा खरिद गर्नेको चहलपहल भने बढेको श्रेष्ठको भनाई छ ।

 


सम्बन्धित समाचार