Logo

७ मंसिर, वीरगञ्ज । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले संविधानमा स्पष्ट गरेको घर बहाल कर स्थानीय तहको सरकारले लिन नपाएको गुनासो गर्नुभएको छ ।

उहाँले घर बहाल कर स्थानीय तहले लिने संविधानमा स्पष्ट हुदाहुदै स्थानीय तहको अधिकारक्षेत्र मिचेर घरबहाल आन्तरिक राजस्व कार्यालयले कर लिईरहेको गुनासो गर्नुभएको हो । सबैभन्दा धेरै राजस्व संकलन गर्ने ठाउँ वीरगन्ज नै भएपनि उपेक्षामा परेको बताउदै उहाँले घर बहालकर महानगरले उठाउन पाएमा अन्य कर नै नलिने दावी गर्नुभयो ।

१२ औं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालय वीरगन्जले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि सिंहले कर भनेको पेलेर जाने हो भन्ने करदाताले बुझेको बताउदै सेवाग्राहीसँगको व्यवहारको सुधार हुनुपर्ने बताउनुभयो । उहाँले वीरगन्ज महानगरपालिकाको वडा नम्बर ३१ का स्थानीय गरिब विपन्नहरूको नागरिकता दूरूपयोग गरेर करोडौ कर तिर्नुपर्ने अवस्था बनाएको र कर कार्यालयले पनि ताकेता गरेर आतंकित बनाएको भन्दै त्यसलाई सहजीकरण गर्न माग गर्नुभयो ।

कार्यक्रमा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, वीरगन्ज भन्सारका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थी, नेपाल चाटर्ड एकाउण्टेण्ड एशोसिएसनका वीरगन्ज महानगर अध्यक्ष रमेश अग्रवाल लगायतले बोल्नुभएको थियो । कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्ष द्वय माधव राजपाल र मनोज दास लगायत विभिन्न सरकारी कार्यालयका प्रमुख र करदाताहरुको उपस्थिति रहेको थियो ।

कर सप्ताहको समापन समारोहमा आर्थिक वर्ष ०७८÷०७९ मा सबैभन्दा बढी कर तिर्ने करदाता र उत्कृष्ट कर्मचारीलाई सम्मानित गरिएको छ । सम्मानित हुनेमा उद्योगतर्फ राजधानी क्राफ्ट नेपाल, व्यापारतर्फ कमला मोहन इण्टरनेशनलका मोहित राजपाल, बैंक तथा बित्तिय संस्थातर्फ शिवम बचत तथा ऋण सहकारी संस्था लिमिटेड शिवजी प्रसाद साह कलवारलाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट कर्मचारीतर्फ कर कार्यालयका रामानन्द यादवलाई सम्मान गरिएको थियो ।


सम्बन्धित समाचार