Logo

८ मंसिर,काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको आज झापा जाने कार्यक्रम तय भएको छ । बिर्तामोडस्थित ई कम कलेजमा निर्मित पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न पूर्वराजा शाह झापा जान लागेको हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को व्यवस्थापनमा उनी झापा जान लागेको बताइएको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पूर्वराजा शुक्रबार दिउँसो काठमाडौँबाट हवाईजहाजमा झापा जाने कार्यक्रम रहेको जानकारी दिए ।पूर्वराजा शाहको भ्रमण व्यवस्थापनका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भने १० दिनदेखि झापामै रहेको राप्रपा स्रोत बताउँछ ।

राप्रपा स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र धुलाबारीस्थित मेची रिसोर्टमा बस्ने कार्यक्रम तय छ ।भोलि शनिबार धुलाबारीस्थित निम्जा खोलाबाट उनको स्वागतमा ८ हजार मोटरसाइकलको र्‍याली गरिने उनको दाबी छ ।

बिर्तामोडमा पूर्वराजा शाहले ४५ मिनेट हिँडेर सर्वसाधारणसँग भेट गर्ने कार्यक्रम पनि रहेको उनले बताए ।
काठमाडौँमा राजतन्त्र पुनःस्थापनाको माग गर्दै दुर्गा प्रसाईंको समूहले प्रदर्शन सुरु गरेको दोस्रो दिन राप्रपाले पूर्वराजा ज्ञानेन्द्रलाई झापाको भ्रमण गराउनुले यसलाई अर्थपूर्णरुपमा लिइएको छ ।


सम्बन्धित समाचार