Logo

९ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले हमासले बन्धक बनाएका नेपालका विपिन जोशीको सकुशल रिहाइमा सघाउन कतारसँग आग्रह गर्नुभएको छ ।

नेपालको औपचारिक भ्रमणमा रहनुभएका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुरैखीसँग हिजो भएको भेटमा प्रधानमन्त्रीले त्यस्तो आग्रह गर्नुभएको हो ।

मानवीय सहायता परिचालन तथा बन्धक बनाइएकाहरूको रिहाइका निम्ति कतारको मध्यस्थतामा गाजामा भएको युद्धविरामको प्रधानमन्त्रीले प्रशंसा गर्दै जोशीको रिहाइमा सघाउन अपिल गर्नुभयो ।

यस्तै, परराष्ट्रमन्त्री एनपी साउदले पनि राज्यमन्त्री मुरैखीसँगको भेटमा जोशीको रिहाइका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ । नेपालको आग्रहलाई सकारात्मक रुपमा लिँदै कतारी राज्यमन्त्रीले विपिनको रिहाइका लागि प्रयास गर्ने आश्वासन दिनुभएको छ ।

हिजोदेखि शुरु भएको चार दिने युद्धविरामकै क्रममा विपिनको रिहाइका लागि सरकारले इजरायलसँग पनि आग्रह गरेको छ । गएको असोज २० गते हमासले इजरायलमा आक्रमण गर्ने क्रममा विपिनलाई बन्धक बनाएर गाजातर्फ लगेको थियो ।


सम्बन्धित समाचार