Logo

१० मंसिर, वीरगञ्ज । कात्तिक शुक्ल चतुर्दशीमा पर्साको ग्रामीण भेगमा लाग्ने सातोमाईका मेलाहरु सुरु भएको छ । जिल्ला वन कार्यालय अन्तर्गत पर्साको जंगलमा एकैसाथ पाँच वटा शक्तिपिठहरुमा लाग्ने मेला सुरु भएको हो ।

ठोरी गाउँपालिकाको वडा नं। ५ मा रहेका बाघमोर्चामाई, जिराभवानी गाउँपालिका वडा नं। ५ मा रहेको सुगीभारमाई, पटेर्वासुगौली गाउँपालिका वडा नं १ मा रहेका गादीमाई, पर्सागढी नगरपालिका वडा नं १ रहेको कोइलाभाई माई र वडा नं ३ मा रहेको आमोदेवी माईको मेला शुरु भएको हो ।

मेला लगाउन यसपटक स्थानीय प्रसाशनको बाधा अवरोध नरहेको र शान्ति सुरक्षामा सहयोग पाईएकाले मेलाहरु धुमधामका साथ लाग्ने स्थानीयले बताएका छन् । चतुर्दशीका दिन मन्दिरमा जल चढाई समान्य रुपमा पूजा अर्चना गरि पूर्णिमाको दिन बली चढाएर मेला समापन हुने गर्छ ।

निरन्तर लाग्दै आएको मेलाले परम्परागत संस्कृतिको संरक्षण हुने स्थानीयहरुले बताएका छन् । मेलामा होहल्ला, जुवा, तास, जाड रक्सी पुर्ण रुपले बन्देज लगाईएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले वताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय पर्साले पनिमेला समितिलाई जानकारी दिइ सकेको उहाँले जानकारी दिनुभयो । हरेक बर्ष कार्तिक शुक्लपक्ष चतुर्दशीका दिन राती र पुर्णिमाको विहान मेला लाग्ने गर्दछ । यी मेलाहरुमा हिजो साँझ दिप प्रज्जवलन गरी शक्तिपिठहरुमा श्रद्धालु भक्तजनहरुले बिशेष रुपले पूजा अर्चना गरेका छन् ।

गएराति लागेको मेलामा नेपाल प्रहरी तथा स्वयंसेवकहरु सुरक्षा व्यावस्थाका लागि परिचालन गरिएको सुगीभारमाई मेला व्यवस्थापन समितिका सदस्य मुक्तीनारायण चौधरीले जानकारी दिनु्भयो ।

आज पूर्णिमाको दिन बिहानदेखि मन्दिरमा बोका, हाँस, कुखुरा लगायतको बलि चढाइएको चौधरीले बताउनुभयो । थारु परम्परा अनुसार बिबाहमा बेहुला र बेहुलीले लगाउने मौर र मौरीलाई स्थानीय शक्तिपिठहरुमा चढाउने गरिन्छ ।

अन्य स्थानका मेला एकरात भरी लाग्ने भएपनि ठोरी गाउँपालिका वडा नम्बर ५ मा लाग्ने बाघमोर्चामाई मेला एक सातासम्म लाग्ने गर्दछ ।


सम्बन्धित समाचार