Logo

११ मंसिर, ठोरी । पर्साको ठोरी गाउँपालिका ५ मा रहेको ऐतिहासिक र धार्मिक बाघमोर्चामाई मेला आजदेखि सुरु भएको छ ।

ठोरी क्षेत्रको शक्तिपिठका रुपमा चर्चित बाघमोर्चा मन्दिर क्षेत्रमा हरेक बर्ष कार्तिक शुक्ल पुर्णिमाको दिनदेखि लाग्ने मेला यसवर्ष एक सातासम्म रहने मेला व्यवस्थापन समितिले जनाएको छ । ठोरी, जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली लगायतका स्थानीय स्तरमा साथै सिमावर्ती भारतीय क्षेत्रमा समेत शक्तिकी देविको रुपमा पुजिने बाघमोर्चा मन्दिरमा आज बिहानैदेखि श्रद्धालुभक्तजनहरुको घुइँचो छ ।

बिहान करीब ४ बजेदेखि नै मन्दिरमा बोका, हाँस, कुखुराको बलि चढाउन आउनेहरू उल्लेख्य सङख्यामा रहेको पशु बली दिने कार्यमा सहभागी वृज किशोर चौधरीले जानकारी दिनुभयो । अघिल्लो वर्षको तुलनामा यसवर्ष भने पशु बलीमा कमी आएको उहाँको भनाइ छ ।

यकिन तथ्याङ्क नभएपनि गतवर्षको तुलनामा यसवर्ष बलि दिनेको सङ्ख्यामा कमी आएको चौधरीले बताउनुभयो । यसवर्ष पनि मन्दिरमा पुजा अर्चना गर्न आउने श्रद्धालुभक्तजनहरुलाई सहजै पुजा अर्चना गराउन लाइन मार्फत मन्दिर प्रवेशको व्यवस्था मिलाइएको छ ।

यस्तै पशुबली दिन आउनेहरुलाई पनि पालैपालो बलि दिन पाउने व्यवस्था मिलाइएको छ ।

मेलामा बिगत बर्षहरुमा झैं यसबर्ष पनि होटेल, पसलको स्टल तथा बालबालिकाको लागि खेलौना र बाल उद्यान छ ।


सम्बन्धित समाचार