Logo

१२ मंसिर,काठमाडौं । गृह मन्त्रालयले देशभरीका कारागारमा पनि योग शिविर संचालन गर्ने भएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा सोमबार गृह मन्त्रालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

गृह मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने भन्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले उक्त अभियान सञ्चालन गर्न लागेको गृह मन्त्रालयले जनाएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल, नेपाल विपश्यना केन्द्रका क्षेत्रीय आचार्य रुप ज्योति, सहायक आचार्य पवन मित्तल, पूर्व प्रहरी महानिरीक्षक एवम् विपश्यना साधक कुबेरसिंह रानासहितको सहभागितमा गृह मन्त्रालयमा सम्पन्न बैठकले पहिलो चरणमा नख्खु कारागारबाट शिविर संचालन गर्ने निर्णय गरेको हो ।

एक महिना भित्रै नक्खु कारागारमा हुने दश दिवसीय शिविरपछि अरू कारागारमा पनि त्यही स्वरूपको शिविर आयोजना गरिने गृह मन्त्रालयले तयारी गरेको छ ।

केन्द्रीय कारागारसहित देशमा ७४ वटा कारागार छन् । नेपाल विपश्यना केन्द्रका धर्मसेवक सुशील शाहका अनुसार केन्द्रकै व्यवस्थापनमा शिविर संचालन हुनेछ ।

पटकपटक शिविर संचालन गरी सबैलाई योगाभ्यास गराउन लागेको हो । गृह मन्त्रालयका अनुसार एक पटकमा ६०–७० जनाले योग्याभ्यास गर्नेछन् ।


सम्बन्धित समाचार