Logo

१३ मंसिर,बारा । बाराको सिम्रौनगढ नगरपालिकामा आकस्मिक सेवासहितको नगर अस्पताल ४ महिनादेखि बन्द भएको छ ।

दक्षिणमा भारतसँग सीमा जोडिएको सिम्रौनगढ नगरपालिका मुख्यमन्त्री सरोजयादवको निर्वाचन क्षेत्र हो । सरकारले राष्ट्रिय स्वास्थ्य नीति २०७६ मा सबै तहका स्वास्थ्य संस्थाबाट निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरिने उल्लेख गरेको छ ।

तर मुख्यमन्त्रीकै पालिकामा जसपा र नेपाली कांग्रेसबिचको राजनीतिक द्वन्द्वका कारण आकस्मिकसहितको स्वास्थ्य सेवा ठप्प छ । सिम्रौनगढ नगरपालिकाका प्रमुख किशोरी प्रसाद यादवले पुराना स्वास्थ्यकर्मीलाई हटाएर आफूखुसी कर्मचारी भर्ना गर्न खोजेपछि सुरु भएको द्वन्द्वले स्वास्थ्य क्षेत्र पूरै प्रभावित भएको छ ।

१५ महिनादेखि सेवा सुविधा नपाएको भन्दै स्वास्थ्यकर्मी आन्दोलन र धर्नामा छन् भने सर्वसाधारणहरू सामान्य उपचारका लागि पनि कलैया, वीरगञ्ज, छिमकी मुलुक भारततर्फ जान बाध्य छन् ।

सिम्रौनगढ नगरपालिका वडा नं ६ अमपुरका ६४ वर्षीय दयाली सिंहले नगर अस्पताल बन्द हुँदा उपचारमा धेरै समस्या भएको बताए । सिम्रौनगढ नगर अस्पतालका ल्याब इन्चार्ज श्यामसुन्दर प्रसाद कुशवाहाले साढे ४ महिनादेखि अस्पताल ठप्प भएको बताए ।

नगर अस्पतालका लामो समय अस्पताल बन्द हुँदा सुगर, युरिया, किड्नी, लिपी प्रोफाइल, सोडियम, पोटासियम, क्यालसियम लगायतका ल्याबमा प्रयोग हुने सामान काम नलाग्ने अवस्थामा पुगेका छन् ।

 


सम्बन्धित समाचार