Logo

१४ मंसिर,वीरगञ्ज । नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जले खानेपानीको महसुल नतिर्ने भिआइपीसहित ५ सय भन्दामाथिको नाम सार्वजनिक गरेको छ ।

महानगरपालिकाको सबै वडामा गरी बीरगन्जको भिआइपीसहित ५२१ जनाले नेपाल खानेपानी संस्थान कार्यालय वीरगञ्जमा खानेपानीको महसुल नतिरेको विवरण सार्वजनिक गरेको हो ।

वीरगञ्जका भिआइपीसहितका ग्राहकले रकम नबुझाउदाँ करिब १२ करोड रुपैयाँ बक्यौता पुगेको नेपाल खानेपानी संस्थानले जनाएको छ ।

वीरगञ्ज खानेपानी कार्यालयका प्रमुख निरण महर्जनका अनुसार २०३७ सालदेखि हालसम्म खानेपानीको सेवा लिदै आएका सेवाग्राहीले समेत खानेपानीको बिल तिरेका छैनन् । यसरी लामो समयदेखि सेवाग्राहीले खानेपानीको महसुल नतिर्दा उठाउनु पर्ने पैसा धेरै पुग्न गएको उनको भनाइ छ ।

उनी भन्छन्,‘सेवाग्राहीहरु अँटेरी छन्, पत्र पठाउँदासमेत रकम तिर्न पुग्दैनन् । रकम भरपाइ गराउन ताकेता पनि गरिन्छ, तैपनि ग्राहकमाथि कुनै असर पर्दैन ।’

यतिमात्र नभइ ०७८ असोज ३ गते मालपोत कार्यालय पर्सामा नेपाल खानेपानी संस्थानको बक्यौता रकम नदिएकाहरुको जग्गा रोक्का गर्नका लागि समेत पत्र पठाएको उनी बताउँछन् । तैपनि अवस्था पाइएको उनको भनाइ छ ।

कोको भिआइपी छन पैसा नतिर्ने लिस्टमा ?

नेपाल खानेपानी संस्थानका जारी गरेको सूचीमा करिब एक दर्जन ठूला व्यापारीसंगै होटल सञ्चालक, अस्पताल, संघसंस्था, क्लेज तथा उच्च पदका व्यक्तिहरुको नाम समावेश छ ।

खानेपानीको रकम नबुझाउनेको सूचीमा पहिलो नाम छ मेयर राजेशमान सिंहका काका मथुरामान सिंहको । उनी लामो समयदेखि नेपाल खानेपानी संस्थान वीरगञ्ज शाखाबाट वितरण हुने खानेपानीको प्रयोग गरेपनि त्यसको महसुल भने तिरेका छैनन्, जसका कारण खानेपानी संस्थानको बक्यौता लिस्टमा उनको नाम उल्लेख छ ।

वीरगञ्ज खानेपानीको सूची अनुसार छपकैयाका मथुरामान सिंहसंग १ लाख ५३ हजार ४ सय ३५ रुपैयाँ लिनुपर्ने विवरण छ ।
साथै छपकैयाकी अम्बिका देवी नेपालसंग २ लाख ५ हजार ६ सय ५५, भगवती टोलका अनिल रुङ्गटासंग १ लाख ५८ हजार ४ सय ८५, आर्दशनगरका प्रदिपकुमार प्रधानसंग १ लाख ५७ हजार ५ सय ७० लिनुपर्ने भनिएको छ ।

यसैगरी छपकैयाका समिम मियासंग २ लाख २१ हजार ९ सय ३०, विर्ताका ओमप्रकाश माडवारीसंग १ लाख ५९ अजार ६ सय ८०, रेशम कोठीका रुद्र बहादुर खड्कासंग १ लाख २४ हजार ९०, आदर्शनगरका रमेश मान सिंह प्रधानसंग १ लाख ९५ हजार ७ सय ४५ , ओम प्रकाश चाचानसंग १ लाख ६२ हजार ९ सय र सम्झना रोडका पशुपति बिक्रम शाहसंग २ लाख ५७ हजार ३ सय २० बक्यौता रकम लिनुपर्ने खानेपानी संस्थान बताउँछ ।

खानेपानी सस्थांनको प्रधान कार्यलयको नीतिअनुरुप नै सुरुमा पत्र काटेर पठाउने गरिन्छ, आफूहरुले पनि त्यही नीति अनुसार वीरगञ्जका सेवाग्राहीहरुलाई पत्राचार गर्ने गरिएको खानेपानी संस्थानको दाबी छ ।

खानेपानी कार्यालयका प्रमुख महर्जनकाअनुसार बक्यौता रकम तिर्न पटकपटक पत्राचार गर्दा समेत त्यसको वास्ता नगर्नेलाई कानुन बमोजिम कारवाही गरिन्छ ।

 

 


सम्बन्धित समाचार