Logo

२० मंसिर,महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्र एक्लै निर्वाचन लड्ने गरी तयारी गर्ने बताउनु भएको छ ।

नेकपा माओवादी केन्द्र मधेस प्रदेशले महोत्तरीको गौशालामा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले नेतृत्वले गरेको मेहेनतलाई जनतामा पु¥याउन निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘थुप्रै बन्दरगाहदेखि विद्युत व्यापारका सम्झौताहरु भएका छन् । चीन भ्रमणले कृषि र प्रविधिको क्षेत्रमा सहयोगको ढोका खुलेको र उत्तरी नाकाहरु पनि क्रमशः खुल्दै गएकोले यसले एउटा राम्रो परिस्थिति बनेको छ । त्यसकारण तपाई हामीले सबैले यो कुरा गहिरो गरी आफूले बुझ्ने अनि जनतामा पु¥याउने ग¥यो भने एउटा लहर फेरी माओवादीको पक्षमा आउनेैपर्छ र ल्याउनै पर्छ । र म के भन्छु भने, यो कुरा नोट गरेर राख्नुस ०८४ मा माओवादी पार्टी कसैसँग मिल्न जादैन आफ्नै खुट्टामा उभिएर चुनाव लड्छ । जति ल्याउछ आफ्नै तागतको बलमा ल्याएर एकचोटी फेरी देखाउछ । माओवादी पार्टी अरु जस्तो होईन । यो कुरा हामीले सावित गरेर देखाउनुछ । यता हामी जादैछौं । अब अरु हामीसँग आउछन् भने त्यो बेला सोचौंला । हाम्रो बलमा धेरैले राज गरे अब त्यसो गर्न दिईदैन ।’

नेपाल अन्तराष्ट्रिय स्तरमा पनि पहिचान विस्तार गर्दै गएको र आन्तरिक रुपमा सवल बनाउने प्रयत्न सफल हुने संकेतहरु देखा पर्न थालेको बताउनुभयो । भारत, अमेरिका, चीन भ्रमणपछि पछिल्लो दुबईको युएई भ्रमणसम्म आईपुग्दा नेपाललाई अन्तराष्ट्रियस्तरमा नेतृत्व गर्ने क्षमता देखाउने अवसर पाएको भन्दै अन्तराष्ट्रिय समुदायले पनि अब नेपाललाई चिन्न थालेको बताउनुभयो ।

एनसेल बर्हिगमनको विषयमा उहाँले भन्नुभयो, ‘हाम्रो प्राधिकरणलाई पनि जानकारीमा छैन । जसको जानकारी र स्वीकृति अनिवार्य हुन्छ । हाम्रो कर विभागलाई पनि जानकारी छैन । नेपाल सरकारलाई पनि जानकारी छैन ।

ऐन, कानून, विधि विधान विपरित बेचिएको सुनेपछि हिजो नै तपाईहरुले देख्नुभयो । मैले यसलाई यसरी जान दिईदैन । यसको छानविन गर्न निर्देशन दिएको र छलफल पनि भईरहेको छ । राष्ट्रलाई ठग्न चाहने कुनै ठगहरुलाई छुट दिन सकिदैन । नेपाल राष्ट्रको पक्षमा दृढता पूर्व उभिन्छ । त्यसकारण पार्टी र सरकार यो पटक नयाँ ढंगले बाहिर जान खोजेको छ ।’

संघीय लोकतान्त्रिक गणतन्त्र भन्दा मानव जातिले सृष्टि गरेको अरु नभएको भन्दै यसको रक्षाका लागि सबै एक भएर जानुपर्ने बताउनुभयो । तथाकथित राजावादी, साम्प्रदायिक तत्वहरुको भविष्य नभएको र लोकतान्त्रिक गणतन्त्र र समाजवादको मात्रै भविष्य रहेको बताउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाललाई ऋणमुक्त गर्ने नेपालीको चाहाना पूरा गर्ने बताउनुभयो । बर्षौदेखि घाटामा चलिरहेको नेपाल आयल निगम ऋण मुक्त भएपछि जनताले देशलाई नै ऋणमुक्त होस भन्ने चाहेकोले त्यो चाहाना आफ्नो नेतृत्वमा नै पूरा हुने जिकिर पनि गर्नुभयो ।

 


सम्बन्धित समाचार