Logo

२० मंसिर,वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित चार जना नेताविरुद्ध जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी गरेपछि देशभर निगरानी बढाइएको छ ।

राज्यविरुद्धको कसुरका दुई मुद्दामा उनीहरूलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन अदालतको आदेशपछि उनीहरुमाथि देशभर नै प्रहरी निगरानी बढाइएको प्रहरी स्रोतको भनाइ छ ।

यहीक्रममा पर्सा प्रहरीले पनि जिल्लाका विप्लव नेता कार्यकर्ताहरुमाथि निगरानी बढाएको प्रहरी स्रोतले जनाएको छ ।
पर्सा प्रहरी प्रमुख कोमल शाहले जिल्लामा रहेका विप्लव कार्यकर्ताहरुमाथि निगरानी बढाउन सबै प्रहरी यूनिटहरुलाई कडा निर्देशन दिएका छन् ।

विप्लव कार्यकर्ताहरुबाट सुरक्षा चुनौती थपिन सक्ने भन्दै उनीहरुमाथि निगरानी बढाएर उच्च सतर्कता अपनाउन पर्साका एसपी शाहले मातहतका सबै यूनिटहरुलाई निर्देशन दिएको स्रोतको दाबी छ ।

विप्लव कार्यकर्ताबाट जिल्लामा हुन सक्ने अपराधिक गतिविधिलाई मध्यनजर गरी उनीहरुमाथि निगरानी बढाइएको पर्सा प्रहरीको भनाइ छ ।
प्रहरी स्रोत भन्छन्,‘एसपी शाहले सबै प्रहरी यूनिटहरुलाई विप्लव कार्यकर्ताहरुको गतिवधि ‘वाच’ गर्न निर्देशन छ, त्यो पनि कडा निर्देशनका साथ । साथै उनीहरुको हरेक गतिविधिको सूचना समेत संकलन यूनिटहरुलाई निर्देशन छ ।’

विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष राजु कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

२०७६ असोज ९ गते दायर भएको मुद्दामा उनीहरूमाथि संघीय इकाइहरूबीच तथा विभिन्न जातजाति वा सम्प्रदायहरूबीचको सुसम्बन्धमा खलल पारेर राज्य विरुद्धको कसुर गरेको अभियोग छ ।

 


सम्बन्धित समाचार