Logo

२० मंसिर,काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार संस्था एनसेलले ८० प्रतिशत सेयर खरिद बिक्रीका सन्दर्भमा नेपाल दूरसञ्चार प्राधिकरणले लेखेको पत्रको जवाफ दिएको छ।

अर्थ समितिमा उपस्थित भएका प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मंगलबार एनसेलले प्राधिकरणको पत्रको जवाफ पठाएको र नेपालको कानुन पालना गर्ने बताएको जानकारी दिएका छन्।

अर्थ समितिले यसअघि सरोकारवाला निकायहरुसँग एनसेलको सेयर खरिदमा प्रश्न उठाएको थियो।
मंसिर १५ गते सेयर खरिद बिक्रीको पूर्व स्वीकृति नलिइ एनसेलमा ८० प्रतिशत सेयर स्वामित्व रहेको रिनोल्ड होल्डिङ्स लिमिटेडको शतप्रतिशत सेयर खरिद बिक्री गर्ने सम्बन्धमा आजिएटा युके र स्पेक्ट्रलाइट युकेबीच सहमति भएको विषय बाहिरिएको थियो।

आजिएटाले एनसेलको सेयर बिक्री गरेको विषय सार्वजनिक भएपछि दूरसञ्चार प्राधिकरणले एनसेल आजिएटालाई पत्र लेख्दै सेयरधनीले सेयर खरिद, बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नुपर्ने व्यवस्था स्मरण गराएको थियो।

जवाफमा एनसेलले कानुनी कर्तव्य पालनाको विषयमा सदैव जागरुक र कटिबद्ध रहने बताएको छ। ‘एनसेल आजिएटा लिमिटेड कानुनको शासनमा विश्वास गर्ने जिम्मेवार संस्था भएकाले आफ्नो कानुनी कर्तव्य पालनामा सदैव जागरुक र कटिबद्ध भएको सबैमा अवगतै छ तहाँको पत्रमा उल्लिखित नियम र विनियमावलीका प्रावधानका पूर्ण परिपालना गर्न सदाझैँ एनसेल आजिएटा लिमिटेड प्रतिबद्ध रहेको व्यहोरा सादर निवेदन गर्दछ,’ एनसेलले प्राधिकरणलाई पठाएको पत्रमा भनिएको छ।


सम्बन्धित समाचार