Logo

फाइल तस्बिर

२१ मंसिर, काठमाडौं । विराटनगर महानगरपालिका–७ सातघुम्तीमा रहेको कवाडी पसलमा आगलागी हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

बुधबार दिउँसो भएको आगलागीमा परी एक जनाको घटनास्थलमै र अर्का एक जनाको न्यूरो अस्पतालमा मृत्यु भएको थियो । थप उपचारका लागि काठमाडौं पठाइएका गम्भीर घाइतेमध्ये एक जनाको बुधबार राति मृत्यु भएको हो ।

प्रहरीका अनुसार आगलागीमा परी शुशिला पासवानको घटनास्थलमै मृत्युु भएको थियो । ४० वर्षीय दीपक मण्डलको उपचारका क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको थियो । विराटनगर ६ का मण्डल कवाडी गोदामका सञ्चालक पनि हुन् । थप उपचारका लागि काठमाडौ पठाइएका चारमध्ये बुधबार राति सुनिता कामतको मृत्यु भएको मोरङ प्रहरी प्रवक्त डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

आगलागीमा परी घाइते भएका विराटनगर–६ की ६० वर्षीया रीता सरदार, विराटनगर–६ कै सुनिता कामत, मोरङको कटहरी गाउँपालिका–६ की ३० वर्षीया पिंकी कामत र विराटनगर–६ का ५८ वर्षीय किशोर कामतलाई थप उपचारका लागि सेनाको हेलिकप्टरमा काठमाडौँ पठाइएको थियो ।


सम्बन्धित समाचार