Logo

दैनिक पाँच रुपैया संकलन

२१ मंसिर,सेढवा । दैनिक पाँच रुपैया संकलन अभियानमा आठ लाख रुपैँया संकलन भएको छ ।

पर्साको ठोरी गाउँपालिका वडा नं १ रहेका वृद्धवृद्धा तथा असहाय कल्याण संस्थाको खातामा करिब दुई वर्षमा उक्त रकम संकलन भएको हो । संस्थामा बस्ने वृद्धवृद्धा, असहाय तथा अपाङ्गहरुको दैनिक खर्च जुटाउन श्रेष्ठले दैनिक पाँच रुपैया संस्थाको नाममा जम्मा गर्ने अभियान सन्तोष श्रेष्ठले सुरु गरेका थिए ।

चन्दादाताहरु जोडिदै जाँदा दुई सय १० जना व्यक्तिहरु जोडिएर उक्त रकम जम्मा भएको श्रेष्ठले बताए । सुवर्णपुरस्थित राष्ट्रिय वाणिज्य बैंकको खातामा अहिले आठ लाख रुपैया जम्मा भएको र जम्मा गर्ने दाताको संख्यामा समेत वृद्धि भएको श्रेष्ठको भनाई छ ।

संस्थाको सुरुवात भारतीय सेनाको जागिरबाट अवकाश पाएका आसबहादुर गुरुङ्गले आफ्नै व्यक्तिगत खर्चबाट शुरु गर्नुभएको थियो । अहिले सस्ंथामा २३ जना अपाङ्ग, असहाय तथा वृद्धवृद्धाको बसोबास छ ।

संस्थामा बसोबास गर्नेहरुको दैनिक खर्च चलाउन दिर्घकालीन व्यवस्थापनका लागि अभियानको थालनी गरिएको अभियानकर्ता श्रेष्ठले बताउनुभयो । खातामा दश लाख रुपैँया जम्मा भएमा उक्त रकमबाट अक्षय कोष स्थापना गरि ब्याजबाट खर्च चलाउन सकिने मनशायले अभियान सुरु गरेको उहाँले जानकारी दिनुभयो ।

बैंकमा दाखिला भएका रकमको हालसम्म २७ हजार ब्याज आएको र उक्त रकम संस्थाका अध्यक्षलाई पठाईसकेको उहाँको जिकिर छ । खातामा एक जनाले दैनिक पाँच रुपैँयाका दरले एक वर्षको लागि आउने एक हजार आठ सय पच्चीस रुपैँया जम्मा गर्नुपर्दछ ।

यसभन्दा बढि रकम एकमुष्ट जम्मा गर्ने प्रावधान समेत रहेको छ । विशेष गरी जन्मदिन तथा अन्य खुसीको अवसरमा संस्थाका रकम जम्मा गर्न आउनेहरुको भिँड लाग्ने श्रेष्ठले बताउनुभयो ।


सम्बन्धित समाचार