Logo

In the rural areas of Parsa water source wells

२२ मंसिर,सेढवा । पर्साको ग्रामीण भेगमा पानीको मुहान इनारहरु लोप हुदै गएको छ । विगतमा खानेपानी तथा अन्य प्रयोजनका लागि बनाएका इनारहरु अहिले पुरिदै गएका हुन् ।

इनारबाट सर्वसाधारणहरुले खान, नुहाउन, भाडा माझ्न लगायतका दैनिक कामकाजका लागि पानीको उपयोग गर्ने गर्दछन् । यस्तै चाडँवाडका समयमा समेत पाठपूजा गर्नुको साथै किसानले उत्पादन गरेका अन्न सबैभन्दा पहिले इनारमा चढाउने परम्परा छ ।

जीराभवानी गाउँपालिका वडा नं ३ परसवाका सेवा निवृत्त शिक्षक जगदिश गौरोले इनारमा कोईला माताको बास रहने भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको जानकारी दिनुभयो । तर अहिले ऐतिहासिक तथा धार्मिक महत्व बोकेका इनार लोप हुदै गएको उहाँले बताउनुभयो । विगतका समयमा प्रत्येक टोलमा एउटा इनार हुने गर्दथ्यो ।

यस्तै हरेक मठ मन्दिरमा कम्तीमा एक वटा इनाई निर्माण गरेको जानकारहरु बताउछन् । इनारमा ढाकछोप नगर्नाले पानीमा फोहरमैला, धुलो पस्ने भएकाले पानी प्रदूषित हुने र उक्त पानी खान नमिल्ने नयाँ पुस्ताका युवाहरुले बताएका छन् । सोही कारण इनारको संरक्षण भन्दा चापाकल, अटोमेटिक पानी आउने धारा जडान गर्ने चलन बढेको उनीहरुको भनाइ छ ।

सामाजिक अभियन्ता प्रकाश थारुले इनारको पानी प्रदूषणमुक्त पार्न सके खान योग्य हुने जानकारी दिनुभयो । पटेर्वासुगौली गाउँपालिका वडा नं ४ दाप सुगौलीस्थित गुदर बाबाको स्थानमा रहेको इनारबाट सर्वसाधारणले अहिले पनि पिउने पानीको प्रयोग गर्दै आएको उहाँको भनाइ छ । स्थानीय सरकार, जनप्रतिनिधिहरुले इनारको संरक्षण गर्न बेवास्ता गरेको उहाँको आरोप छ ।

थारु कल्याणकारी समिति पर्साका पूर्व उपाध्यक्ष तथा थारु भाषाका कवि मोहन दास थारुले विवाह तथा अन्य कार्यमा इनारको पानी साइतको लागि शुभ मानिने जिकिर गर्नुभयो । उहाँले वीरगंज–३१ बेलवास्थित आफ्नो घरको काठको इनारलाई सुरक्षित राखेको बताउनुभयो । पुर्खौली काठको इनारलाई २०१८ सालमा जिर्णोद्वार गरी पक्की बनाई प्रयोगमा ल्याएको उहाँको भनाइ छ ।

इनारहरुमा ऐतिहासिक शिला लेखहरु पनि रहने भएकाले यसको संरक्षण गर्न आवश्यक रहेकोमा जोड दिदैँ यसको संरक्षणको अभावमा भविष्यमा सन्ततिहरुले इनार देख्न समेत नपाउने जानकारहरुले बताएका छन् ।


सम्बन्धित समाचार