Logo

२२ मंसिर,सेढवा । पर्साको ठोरीस्थित ठुटे खोलाको पुल र बुद्ध स्टोन पार्क फोटो खिच्ने केन्द्र बन्दै गएको छ । मधेश प्रदेशकै पर्यटकीय स्थलको रुपमा चिनिने ठोरी गाउँपालिका वडा नं. २ का यि स्थानहरु अहिले फोटो तथा सेल्फी खिच्ने केन्द्रको रुपले चर्चित भएको हो ।

ठूटे खोलाको पूलमा नेपालको झण्डा राखिएसँगै आन्तरिक तथा बाह्य पर्यटकहरु फोटो खिच्न आउने क्रम बढेको स्थानियले बताएका छन् । भारतको बिहार राज्य पश्चिमी चम्पारण नरकटियागंजका अमित कुमारले विगत केहि वर्षदेखि ठोरी घुम्न आउने गरेको जानकारी दिनुभयो ।

सडक तथा पुल निर्माण जस्ता बिकास निर्माणमा वृद्धि भएकाले भारतिय पर्यटकहरु समेत ठोरीतर्फ आकर्षित भएको उहाँको भनाइ छ । प्राकृतिक दृष्टिकोणले भरिपूर्ण यस क्षेत्रको दृष्य सामाजिक सञ्जालमा राख्ने प्रचलन भएको उहाँको जिकिर छ ।

त्यस्तै रुखको सामान्य जरा तथा ढुङ्गा प्रयोग गरी निर्माण गरिएको बुद्ध स्टोन पार्क उत्तिकै मनमोहक भएको जगरनाथपुर गाउँपालिका वडा नं ३ गढैयाका शिक्षक मोहन साहले बताउनुभयो । सडक छेउमा फालिएको ढुङ्गाबाट निर्माण गरिएको उक्त पार्कले पर्यटकहरुलाई निकै लोभ्याएको उहाँले जानकारी दिनुभयो ।

बुद्ध स्टोन पार्कलाई पर्यटकहरुले टिकटक पार्क समेत भन्ने गर्दछन् । स्थानीय बुद्धिबहादुर गुरुङले आफ्नो श्रम र लगानीबाट पार्कको निर्माण गरेको बताउनुभयो ।

कोभिडका कारण लागेको दोस्रो लकडाउनको समयदेखि पार्कको निर्माण शुरु गरेको उल्लेख गर्दै गुरुङले अहिले पनि पार्कलाई सजाउने काम भईरहेको बताउनुभयो ।


सम्बन्धित समाचार